सजना तिमल्सिना, काठमाडौं, १७ चैत । केही दिनयता काठमाडौं उपत्यका सहित देशका मुख्य शहरमा प्रदूषण बढेको छ । गत २४ घण्टाको तथ्याङ्क हेर्दा काठमाडौं, पोखरा, धनगढी आसपासका क्षेत्रको हावा स्वास्थ्यको लागि हानिकारक भएको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वायु गुणस्तर निगरानी केन्द्रले जनाएको छ । यसले स्वास्थ्य क्षेत्रमा पनि दीर्घकालिन समस्या पर्ने डाक्टरहरू बताउँछन् ।
एक हप्ताअघिसम्म आकाश निलो र सफा देखिन्थ्यो । तर अहिले बादल लागेको पनि छैन, आकाश खुल्ला पनि देखिदैन । मौसम धुम्म छ । धुम्म मौसम खुल्न अझै एकदुई दिन लाग्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ ।
गत वर्ष पनि यहि बेला प्रदुषण बढेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । विशेषगरी कलकारखाना, सवारीसाधन र निर्माणधिन सडकका कारण बाह्रै महिना वायु प्रदुषण भइरहन्छ ।
अहिले प्रदुषण बढाउन वनजंगलमा लागेको डढेलोले पनि सहयोग गरेको वातावरणविज्ञ अभिषेक श्रेष्ठले बताउनुभयो । अधिकांश शहरी क्षेत्रको हावा प्रदुषित छ । कतिपय ठाउँको हावा संवेदनशील स्वास्थ्य अवस्था भएका मानिसका लागि हानिकारक देखिन्छ ।
प्रदुषण बढ्दा एकातिर वातावरण दुषित हुन्छ भने अर्कोतिर मानिसको स्वास्थ्यमा पनि दीर्घकालिन समस्या आउन सक्छ । प्रदुषण घटाउने सँगै, हालको प्रदुषणबाट आफूलाई जोगाउने कुरामा ध्यान दिन डा केदार सेन्चुरीको सुझाब छ । वायुमण्डलमा थिग्रिएको प्रदुषित कण पखाल्न तत्काल ठूलो पानी पर्नुपर्ने वा तीव्रगतिको हावा चल्नुपर्ने मौमसविद्ले बताएका छन् ।
डढेलो तथा कलकारखानाबाट निस्कने धुँवा नियन्त्रण र थोत्रा सवारी सडकमा गुड्ने दरमा कमी ल्याउन सके प्रदुषण घटाउन सकिने विज्ञहरुको तर्क छ ।