मान बहादुर कुँवर, जुम्ला, १५ फागुन । कर्णाली प्रदेशको विकट जिल्लाको रूपमा चित्रित हुँदै आएको जुम्लाले विस्तारै आफ्नो परिचय बदल्दै गएको छ । स्थानीय सरकार आएपछि, सडक बिस्तार बढेको छ, शिक्षा र स्वास्थ्यको अवस्था फेरिदै गएको छ ।
व्यावसायीक रूपमा स्याउ र तरकारी खेती गर्नेहरू बढेका छन्, अनि व्यावसायीक रूपमा पशु पालन गरेर आफ्नो जीवन स्तर उकास्ने र गाउँलाइ नै समृद्धीको बाटोमा हिडाउनेहरू पनि छन् । तिला गाउँपालिकाको केन्द्रबाट कर्णाली राजमार्गलाइ तल छोडेर १ घण्टा उकालो हिडेपछि पुगिन्छ, जुम्लाको लर्मि गाउँ । भिरालो जमिन, खैरो माटो । बोटबिरुवा त्यति देखिदैन ।
अग्ला, अग्ला भिरको बीचमा छ, तिला गाउँपालिका वडानम्बर २ को लर्मी गाउँ । पाखोबारीमा उत्पादन राम्रो हुँदैन । वर्षभरी काम ग¥यो, खान पुग्थ्यो, ३ महिना । भूगोलका हिसाबले बिकटमा रहेको यो गाउँ उत्पादनका हिसाबले पनि पछि परेको थियो । तर, गाउँमा ५ वर्र्ष अगाडी दामा रावतले व्यावसायीक रुपमा थालेको भेडा पालन व्यवसाय अहिले गाउँकै आम्दानीको आधार बनेको छ ।
लर्मी गाउँमा ८० घर परिवारको बसोबास छ । जहाँ करिब ५ सय नागरिक छन् । गाउँका ५० परिवारले भेडा पालेका छन् । हिँउदको यो समयमा गाउँका मानिसहरू ५ महिना अघि काटेको भेडाको उनको राडीपाखी बुन्न व्यस्त छन् । घरघरमा भेडाको उनबाट कपडा बुन्ने तान बनाईएको छ ।
दिउँसो होस् कि बिहान बेलुका मानिसरू तानमा राडीपाखी, लिउ, फेरुवा, टोपी, स्वीटर बुन्दै गरेको भेटिन्छन् । धान्य रावतले राडिपाखी बेचेरै महिनाको ५० हजार कमाउनुहुन्छ ।गाउँमा लगभग एक हजार भेडा पालिएका छन् । भेडाको उन वर्षमा २ पटक काट्न सकिन्छ । परिवारमा उनको कपडा बुन्ने र गोठालो जानेहरू बाँडफाँड हुन्छन् । एउटा राडीपाखी ५ हजारमा बिक्रि हुन्छ । यसरी भेडाको उनबाट एउटा घरले बार्षिक २ लाखसम्म आम्दानी गर्छन् ।
१० वर्षअघि सम्म अशिक्षा र व्याप्त गरिबि रहेको यो गाउँको मुहार अहिले फेरिदै गएको छ । यसको एक मात्रै कारण हो, भेडा पालन । आमाबुवा आर्यआर्जनमा जोडिएपछि गाउँका बालबालिका नियमित विद्यालय जान्छन्, उच्च शिक्षा पढ्नेहरू पनि बढेका छन् ।
उनको कपडा खोज्दै उपभोक्ता गाउँमै पनि पुग्छन् । नभए गाउलेहरू आपसमा मिलेर बजार सम्म झार्ने गरेका छन् । आयआर्जनमा बढेपछि महिलाहरूको जीवनशैली नै फेरिएको छ । गाउँमा अझैसम्म सडक भने पुगेको छैन । भेडापालक व्यावसायी सडक, कपडा बुन्ने आधुनिक मेसिन र सिप तथा सामान बिक्रि, वितरणको लागि व्यवस्थित बजार भए उत्साह अझै थपिने बताउँछन् ।