काठमाडौं, ९ पुस । तमू (गुरुङ) समुदायहरुको ठूलो चाड तमू ल्होसार २०७८ कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपाय सहित काठमाण्डौको टुडिखेलमा भव्य मनाइने भएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा गठित तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी तमू ल्होसार २०७८ को कार्यक्रम घोषणा गरेको हो ।
तमू ल्होसार मूल आयोजक समितिले जारी गरेको विज्ञप्ति अनुसार यस पटक पनि अघिल्ला वर्षहरुमा जस्तै शुभकामना आदान–प्रदान, लोक दोहोरी प्रतियोगिता, किताव समिक्षा एवं श्रष्टा सम्मान, खेलकुद प्रतियोगिताको आयोजना गरिने भएको छ ।
घोषित कार्यक्रम अनुसार शनिबार (१० पुष) किताव समिक्षा एवं श्रष्टा सम्मान कार्यक्रमको आयोजना हुने छ । यस्तै, आइतबार (११ पुष) तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले चियापान तथा शुभकामना आदान–प्रदानको कार्यक्रम आयोजना गर्ने छ भने बुधबारबाट खेलकुद र लोकदोहोरी प्रतियोगिता सुरु हुने छ ।
तमू ल्होसार २०७८ को अन्तिम दिन टुडिखेलमा भव्य समारोहको आयोजना हुने छ, जहाँ प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने छन् ।
कोरोना महामारीको प्रभाव केही कम देखिएपछि यो वर्ष टुडिखेलमा ल्होसार पर्व मनाउने तयारी गरिरहेको तमू ल्होसार मूल आयोजक समितिले सुरक्षाका उपाय सहित मनाइने जनाएको छ । ‘कोरोना भाइरसको प्रभाव अझै कम भइसकेको छैन । भर्खरै पनि नयाँ भेरियन्ट देखिएको छ । तर, हामी हाम्रो ठूलो पर्व ल्होसार भव्य मनाइरहँदा कोरोना भाइरसबाट बच्ने उपायहरु अपनाउने छौं’, तमू ल्होसार मूल आयोजक समितिका अध्यक्ष श्रीप्रशाद गुरुङले भने, ‘हामी स्टेजलाई पनि नियमित रुपमा स्यानिटाइज गर्नै छौं । बाँकी स्टलहरुलाई पनि स्यानिटाइज गर्ने छौं । ल्होसार मनाउन टुडिखेल आउने सबैलाई मास्क अनिवार्य गर्नै छौं ।’
कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले फरक धर्म र संस्कार मान्ने समुदाय माथि राज्यबाट भेदभावको व्यवहार हुने गरेको आरोप लगाउनुभयो । उनले तमू ल्होसारको दिन यस अघि दिइदै आएको सार्वजनिक विदा काटेको सरकारले यो वर्ष उक्त दिन परिक्षाको मिति तोकेर गुरुङ समुदाय माथि अन्यायपूर्ण व्यहार प्रदर्शन गरेको बताए ।
‘यसअघि हामीले पाउँदै आएको सार्वजनिक विदा काटिएको सन्दर्भमा हाम्रो आन्दोलन अझै जारी छ । यो वर्ष त सरकारले त्यहीदिन परीक्षाको मिति तोकेर गुरुङ समुदायलाई अझ पेल्न खेलेको छ’, अध्यक्ष गुरुङले भने, ‘हामी सरकारको यो विभेदकारी व्यवहारको विरोध गर्दछौं । गुरुङ समुदायले तमू ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा पाउनै पर्छ ।’
गुरुङ समुदायले हरेक वर्ष पुष १५ मा टुडिखेलमा भव्य समारोहको आयोजना गरी आफ्नो ठूलो चाड ल्होसार मनाउँदै आइरहेको छ । हरेकवर्ष पुष १५ मा ल्हो फेरिने अर्थात् नयाँवर्ष सुरु हुने विश्वासका साथ गुरुङ समुदायले प्रकृति र आफ्नो पितृको पूजागर्ने, ठूला बडाबाट आशिर्वाद लिने गर्दछन् ।