मनकामना, २७ कार्तिक । गोरखाको रामशाहघाट दोभानबाट मनकामना, ताक्लुङ, घैरुङ, नाजुङ हुदै ढुङ्गागाडेसम्म पुग्ने सडकको नाम लखन थापा मार्ग नामाकरण गरिने भएको छ। शहिद लखन गाउँपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले उक्त सडकको नाम लखन थापा मार्ग नामाकरण गर्ने निर्णय गरेको हो।
प्रथम शहीद लखन थापा मगर र प्रसिद्ध धार्मिक स्थल मनकामना माईको पहिलो पूजारी सिद्ध लखन थापा मगर दुवैको सम्मानमा उक्त सडकको नाम लखन थापा मार्ग नामाकरण गर्ने कार्यपालिकाले निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले मगरले बताए।

सिद्ध लखन थापा मगर विशेष गरेर वि.सं. १६६६ सालताका अर्थात तात्कालिन राजा राम शाहको पालमा मनकामना माई मन्दिरको पहिलो पूजारीको रुपमा प्रसिद्धि कमाएका व्यक्ति हुन् भने प्रथम शहिद लखन थापा मगर जहानिया राणाशासनका विरुद्ध वि.सं. १९२७–३३ सम्म जनविद्रोह गरेका व्यक्ति हुन्। खास नाम लक्ष्मणसिंह थापा मगर भए पनि उनले सिद्ध लखन थापा मगरको प्रसिद्धिलाई पछ्याउदै आफ्नो नाम परिवर्तन गरि लखन थापा मगर राखेको इतिहासमा पाईनछ।
उनै प्रथम सहीद लखन थापा मगर र सिद्ध लखन थापा मगरको सम्मानमा गाउँपालिकाले उक्त सडकको नाम लखन थापा मार्ग नामाकरण गर्ने निर्णय गरेको अधिकृत आलेले बताए।

यस्तै बैठकले प्रथम शहीद लखन थापा मगरको नेतृत्वमा राणशासन विरुद्ध जनविद्रोहमा बलिदानी दिने जुठ्या थापा मगर, अछामी मगर, जीतमान गुरुङ, अजपसिंह थापा मगर र विराज थापा मगरलाई शहीद घोषणा गर्न र उक्त जनविद्रोहमा क्रियाशील भइ संलग्न भएका कालु लम्साल, सन्त ज्ञानदिल दास, सुकदेव गुरुङ, सुपति गुरुङ र कुराल राना मगरलाई क्रान्तिकारी प्रजातान्त्रिक योद्धाको रुपमा सम्मान गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई सिफारिस तथा अनुरोध गर्ने निर्णय गरेको छ।
यसैगरि सोहि बैठकले गाउँपालिकामा सरकारी कामकाजको दोस्रो भाषाको रुपमा मगर भाषा तोक्ने निर्णय पनि गरेको छ।