कुरिनटार, १५ असार । चितवनको इच्छाकामना गाउँपालिकाले ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वडावडामा गएर ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। गाउँपालिकाले दिवसको अवसरमा बिहिबार गाउँपालिकाको ३ वटा वडाका जेष्ठ नागरिकसँग सम्मान तथा भेटघाट कार्यक्रम गरेको हो।
सबै उमेरको समूहको लागि विद्युतिय प्रबिधिको प्रयोगमा समानता नाराको साथ बिश्वभर मनाइरहेको जेष्ठ नागरिक दिवसको अवसरमा आफ्नो क्षेत्रको वृद्ध आमाबुबाहरुलाई सम्मानका साथै भेटघाट कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताए। साथै यस कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिईरहेको उनले बताए।

जेष्ठ नागरिकहरुलाई उपाध्यक्ष कृतीकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडा नम्बर चारका कार्यवाहक वडा अध्यक्ष मुक्ति सिलवाल लगायत जनप्रतिनिधिहरुले दौसल्ला ओढाई परिकारहरु खुवाएर सम्मान गरेका थिए ।
इच्छाकामना गाउँपालिकाको फिश्लिङ, कुरिनटार र मुग्लिङन गरि तीन स्थानमा आज सम्मान कार्यक्रम आयोजना गरिएको छ। कुरिनटारमा आयोजित कार्यक्रममा ४३ जना वृद्ध हरुलाई स्वास्थ परिक्षणको साथै दोसल्ला ओढाइ विभिन्न परिकार खुवाइ सम्मान गरिएको थियो ।