कुरिनटार, ९ असोज । चितवनको इच्छाकामना गाउँपालिकाले विद्यालयमा कार्यरत कर्मचारीहरु कार्यालय सहयोगी, बालविकाश सहजकर्ता र लेखा शिक्षकलाई केन्द्रीय सरकारले तोकिए बमोजिमको तलब सुविधा नदिने भएको छ। असोज ६ गते बसेको गाउँकार्यपालिकाको बैठकले विद्यालय कर्मचारीको तलब सुविधाको सन्दर्भमा केन्द्रीय सरकारले निर्धारण गरेको न्यनतम तलब मासिक १५ हजार भन्दा कम तलब दिने निर्णय गरेको हो।
केन्द्रीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट निति तथा कार्यक्रम मार्फत विद्यालयमा कार्यरत कर्मचारीहरु कार्यालय सहयोगी, बालविकाश सहजकर्ता र लेखा शिक्षकको न्युनतम तलव मासिक १५ हजार गराईनेछ भनेर घोषणा गरेको थियो। सोही बमोजिम केन्द्र सरकारले कार्यालय सहयोगी र बालविकाश सहजकर्ताको तलब मासिक ८ हजार र लेखा शिक्षाको तलब मासिक ११ हजार ५ सय पठाउने र सो रकममा गाउँपालिकाले आन्तरिक स्रोत मार्फत रकम थपेर उनीहरुको तलव न्युनतम मासिक १५ दिने घोषणा गरेको थियो।
तर इच्छाकामना गाउँपालिकाले भने यो वर्ष गाउँपालिकाको आन्तरिक स्रोतको कमीका कारण केन्द्र सरकारले तोकिए बमोजिमको न्युनतम पारिश्रमिक भन्दा कम रकम दिने निर्णय गरेको छ। जसका कारण शिक्षक संगसंगठनहरुले विरोध गर्न थालेको छ।
गाउँपालिकाले दिएको जानकारी अनुसार असोज ६ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले विद्यालयमा कार्यरत निजि शिक्षकलाई २० हजार, कार्यालय सहयोगीलाई १० हजार, बालविकास सहजकर्तालाई १२ हजार र लेखा शिक्षकलाई १३ हजार दिने निर्णय गरेको छ। यद्यपी यो निर्णय अध्यक्षबाट प्रमाणीकरण हुन भने बाँकी रहेको गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिकाका ५४ वटा विद्यालयहरुमा हाल कार्यालय सहयोगी ५८ जना, बालविकास सहजकर्ता ६८ जना र लेखा शिक्षक ७ जना कार्यरत छन्।