काठमाण्डौं, २२ कार्तिक
सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।
शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।
दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । तर, आईपीएलको नियममा पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने प्रावधान रहेको छ । मुम्बई फाइनल प्रवेश गरिसकेको छ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मुम्बईसँग खेल्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।