हात्तिवाङ, २० साउन । पहिलो पटक सिमान्तकृत चेपाङ समुदायको धर्मसंस्कृतीमा आधारित रहि चलचित्र निर्माण हुने भएको छ। उक्त समुदायको धर्मसंस्कृति, भाषा, परम्परा र भेष–भुसाको संरक्षणको लागि चलचित्र निर्माण हुने भएको हो।
चेपाङ समुदायको बाहुल्य रहेको स्थानीय तहहरुसँगको समन्वयमा निर्माण हुने चलचित्रको निर्माणका लागि चलचित्र निर्माण टोलीले छलफल सुरु गरेको छ।
यसका सुरुवात चितवनको इच्छाकामना गाउँपालिकाबाट भएको छ। आज इच्छाकामना गाउँपालिकाको वडा नं. १ स्थित हात्तिवाङमा चलचित्र निर्माण सम्बन्धि छलफल भएको छ। गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यता तथा इच्छाकामना चेपाङ संघका अध्यक्ष विकाश चेपाङको उपस्थितिमा चलचित्र निर्माण सम्बन्धि छलफल भएको छ।
उक्त छलफललाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले सिमान्तकृत चेपाङ समुदायको धर्मसंस्कृति, भाषा, परम्परा र भेष–भुसाको संरक्षणको लागि चलचित्र निर्माण हुन लागेकोमा आफुलाई खुशी लागेको र चलचित्र निर्माण सफल होस् भनी शुभकामना दिएका थिए।
अध्यक्ष गुरुङले बाग्मती प्रदेशको चितवन, मकवानपुर ,धादिङ लगायतको स्थानमा परापुर्वकाल देखि बसोबास गर्दै आएका पिछडिएको बर्गमा समाहित चेपाङ समुदायको आफ्नो पहिचानको लागि बनाउन लागेको चलचित्रको निर्माणमा आवश्यक समन्वय र सहयोग गर्न तयार रहेको बताए।
छलफलमा चलचित्रका निर्देशक विनोद गौतमले चलचित्रको सुटिङ चितवन, मकवानपुर र धादिङमा रहेको चेपाङ बस्तिहरुमा गरिने बताए।
यसैबिच सोहि छलफलबाट चलचित्र निर्माणका लागि आवश्यक सहयोग र समन्वयका लागि दिपा चेपाङको अध्यक्षतामा १५ सदस्यीय समन्वय समिति पनि गठन गरिएको छ।