कुरिनटार १८ जेठ । चितवन उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । चितवन उद्योग संघ इच्छाकामना इकाइको सहकार्यमा इच्छाकामना गाउँपालिका परिषर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार,इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।
शसस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई २ हजार ५०० पिस मास्क, ९० वटा स्यानीटाइजर, ३ वटा पिपिई, ५० सेट फेस शिल्ड, ५० कार्टुन पानी, इलाका प्रहरी कार्यालय मुग्लिनलाई २ अजार ५०० मास्क, ९० वटा स्यानीटाइजर, ,३ वटा पिपिई,५० सेट फेस शिल्ड र २० कार्टुन पानी र पत्रकारकाहरुका लागि, ७५० पिस मास्क,१५ वटा स्यानीटाइजर र १५ सेट फेस शिल्ड सहयोग गरिएको हो ।

चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेँल, गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र चितवनउद्योग संघ इच्छाकामना इकाइका अध्यक्ष अमर बहादुर अधिकारीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रमुख कालिदास धौवजी, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सुर्य बहादुर राना मगर र नेपाल पत्रकार महासंघ वागमती प्रदेश परिषद् सदस्य हीरालाल गुरुङलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेँलले अग्रभागमा रहेर काम गर्नुपर्ने भएकाले सुरक्षाकर्मी र समाचार संकलन गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो।आगामी दिनहरुमा सहयोगलाई निरन्तरता दिईने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई बर्षदेखि धेरै उद्योगहरु बन्द रहेको अवस्था छ, बाँच्न सबै भन्दा ठूलो कुरा हो स्वस्थ रहे बाँचे उद्योगहरु सञ्चालन गरौँला यतिबेला कोरोनासंग लड्न सबै जुट्नुपर्छ ।” उहाँले चितवनका सबै पालिकाहरुमा कार्यरत सुरक्षा कर्मी र पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्ने पनि जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले कोरोनालाई परास्त गर्नका लागि सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले यहाँका सुरक्षा कर्मी र पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेकोमा चितवन उद्योग संघलाई धन्यवाद दिनुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी, चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्ती, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, बिष्णु पौडेल, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।