चितवन, ८ कार्तिक ।
बडा दशैंको आज महाअष्टमीको दिन, हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ शक्तिपिठहरुका साथै घरघरमा बलि दिएर मनाउने गरिन्छ। यो दिनमा आदिवासी जनजाती समुदाय मध्यको एक गुरुङ जातिले भने खे माँ तेब÷थेँब त्हेँ मनाउने चलन छ।
पितृलाई सम्झेर पुजा गरि गुरुङ समुदायले खे माँ तेब÷थेँब त्हेँ मनाउने गरेको तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङले जानकारी दिनुभयो। अध्यक्ष गुरुङका अनुसार यो पर्व गुरुङ समुदायले विशेष गरेर दसैँको फुलपाती वा अष्टमीको दिनमा आफ्नो पितृलाई सम्झेर पुजा गरि मनाईन्छ।
विषेश गरेर गुरुङ समुदायले आदिमकाल देखि दुई किसिमको शक्ति लिएर दुई किसिमको आजा पूजा गर्दै आएको पाइन्छ । पित्री पूजा, कूलकुलयान पूजा र पकृती पूजा, सिल्दो न्हाल्दो सिम्या भूम्या देवि देउराली पूजा।
जसमा गुरुङ जातिहरुको प्राकृतिक पुजारी पितृ भएकाले पितृ पूजा वा अजि खे अजिमा (खे मा) पूजा गरेर आत्मबल, बिश्वास र शक्ति ग्रहण गर्ने विश्वास छ। गुरुङहरुले जुन सुकै पूजाहरु गर्दा दुःख विमार हुदा, अपतकालिन समयमा कुल पितृलाइ सम्झेर पूजा सुरु गर्ने सुख शान्ती शक्ति लिने गर्दछ।
पितृ पुजा गर्दा घरमा वा भाइ खलकको मुलि ब्यक्तिले केही नखाइ नुहाई धुवाई गरेर चोखो भइ घरमा अगेना चुलोको छेउमा (जसलाई गुरुङ भाषामा ‘फैसुँ’ भन्छन्) गोबर र रातो माटोले लिपपोत गरि त्यस माथी हरियो केराको पात ओछ्याएर त्यस माथी स्वर्ग भएको पुर्खौंदेखिको पितृको नाममा केराकै पातको स–साना दुना बनाएर राख्ने गरिन्छ। दुनाहरु राख्दा सबैभन्दा दाहिने पट्टी घरको कुल देवताको नामको राखिन्छ र क्रमैसँग पितृ मातृ (खे मा)हरुको नाममा राखिन्छ। सो दुना राख्दा स्वर्ग भएको पुर्खौंदेखिको खे माँहरुको नाम पुकार्दै राखिन्छ र नाम पुकार्दै ती स–साना दुनाहरुमा चोखो भात, खिर, रोटि (प्ला क्हेँ), तिउन, मासु, दूध, दहि, फलफूल, जौ, तिल, मर्चा (प्र्हम) एकराते जाँड, रक्सी र माछा राखिन्छ। र प्रत्यक दुनामा चोखो पानी राखिन्छ। माछा, अदुवा अनिवार्य चाहिन्छ। यसरी पुजा गर्दा पुजा गर्ने ब्यक्तिले पुर्खौंदेखिको खे माँ को नाम पुकारी कटुसको पातमा आगोको कोइला राखी शुद्ध घ्युमा पातीको मुन्टा मुछेर धुप हाल्दै पुजा गर्छ।
यो बेलामा हाम्रा पितृहरुको हंसले आएर खुसी हुँदै ती चढाएको चोखो परिकारहरु खान्छन् र फेरि आफ्नै स्थानमा गएर बस्छ भन्ने गुरुङ समुदायमा धार्मिक र सामाजिक मान्यता छ। पुजा गरिसकेपछी घरको जहान पुजामा उपस्थित दाजुभाइ दिदीबहिनीहरुले बल्ल खाना खाने गर्छ।
तर समग्रमा खे मा पितृलाई नै सम्झने हो तर विशेष गरेर पितृ पूजा साउने सक्रान्तीको दिनमा, अष्टमीको दिन र चौदा पुसको बेलुकामा समेत खे मा चुसी पनि गरिन्छ।