टेकेन्द्र बोहरा, बझाङ, १९ बैशाख । बझाङमा कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा र जडिबुटी नै रहेको हुदा यार्सा सङ्कलनको याम शुरु भएसँगै अधिकांश स्थानीयवासी लेकतिर जान थालेका हुन् ।
जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी सङ्कलन नै मुख्य आयस्रोतको आधार रहेको स्थानीयहरु बताउछन् । गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा सङ्कलकको भीड हुने र कोरोनाको सङ्क्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि सङ्कलनमा रोक लगाएको थियो तर यो वर्ष भने कुनैपनि स्थानीय तहले पनि यार्सा सङ्कलनमा रोक लगाएको थियो ।
जिल्लामा दिन प्रतिदिन सङ्क्रमित बढ्दै गएको र कुनै निकायले ध्यान यार्सा सङ्कलन गर्ने दिने या नदिन भन्ने कुनै पनि सुचना जारी नगरेको बुङ्गल नगरपालिका वडा नम्बर २ का आनन्द धामीले बताउनुभयो । केही वर्षयता यार्सा खासै नपाइने तथा कोरोना महामारीका कारण भएको बन्दाबन्दीले सङ्कलनको काम प्रभावित भएको र यार्सा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसिएको उहाँले बताउनुभयो ।
यार्सागुम्बा सङ्कलकहरु बुङ्गलको धौलाढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे सुर्मा तथा साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा, माझा, फरालखेत, कालापानी, राइढुङ्गी, स्याङ्वनलगायत वन क्षेत्रमा सङ्कलक पुगिसकेका छन् गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले सङ्कलनमा रोक लगाइए पनि यस वर्ष सङ्कलन रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताउनुभयो ।