काठमाडौं, ३ कार्तिक
आजदेखि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि खसीबोका बिक्री गर्ने भएको छ ।
काठमाण्डौको थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ। दाङ र मकवानपुरबाट काठमाण्डौ ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ।
निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो। पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २ सय ५ गरी ४ सय ५ वटा खसीबोका काठमाण्डौ ल्याइएको छ । यसपालि एक हजार खसीबोका बिक्री गर्ने तयारी छ ।
हरेक वर्ष दशैँमा सरकारले खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि गएको वर्षको तुलनामा मूल्य बढी भएपछि अन्तिममा नल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।यसैबीच दशैँका लागि खसीबोका, भेडाच्याङ्ग्राको जोहो गर्नेले स्वस्थ र अस्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न डाक्टर अवधेश झाले आग्रह गर्नुभएको छ।
काठमाण्डौ महानगरपालिकाको पशुसेवा महाशाखाका प्रमुख डाक्टर झाकाअनुसार स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको छ। ।