कुरिनटार, ६ बैशाख । जन्मदिन कोषले इच्छाकामनाका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । सोमबार इच्छाकामना ३ बारबाङखोलाका वविता चेपाङ र निर्मला चेपाङको परिवारलाई रु ५/५ हजारका दरले १० हजार सहयोग गरेको हो ।
जन्मदिन कोषमा मार्फत नेकपा माओवादी केन्द्र इच्छाकामनाका सचिवालय सदस्य हरि सुनार र प्रगती पाठशाला कुरिनटारका सहायक प्रिन्सिपल इश्वरविलास अधिकारीले घरमै पुगेर उक्त रकम सहयोग गर्नुभएको हो ।

वडासदस्य डिल बहादुर चेपाङ , जन्मदिनकोषका अभियनता तथा नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य प्रताप गुरुङ, जिल्ला सदस्य सावित्रि सिलवाल, हरि थापा , सम्झना खड्का सिलवाल,शिव पौडेल लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गर्नुभएको हो ।
वडा सदस्य डिल बहादुर चेपाङको पहलमा उक्त सहयोग गरिएको हो । हावाहुरीले वविता चेपाङ र निर्मला चेपाङको घर उडाएपछि उनिहरुको परिवार अलपत्र परेका छन् । अहिले उनिहरुको परिवार छिमेकीको घरमा बस्दै आएका छन् ।
जस्ताको छाना उडाएपछि पुन : प्रयोग गर्न नमिल्ने गरि क्षती भएको वविता चेपाङले बताउनुभयो । जस्ता पाता किन्ने पैसा नहुदाँ उनिहरु बिचल्लीमा परेका हुन् ।

वडा सदस्य डिल बहादुर चेपाङले पनि पुरानो जस्ता भएका कारण पुन घर छाउन नमिल्ने गरि क्षती पुगेकोले घरको छानोका लागि सहयोग गर्नुपर्ने अवस्था भएको बताउनुभयो ।उहाँले सहयोगका लागि गाउँपालिकामा पहल गरिदिने बताउनुभयो ।
जन्मदिनकोषमा सहयोग प्राप्त रकमले इच्छाकामनामा रहेका विपन्न बालबालिको शिक्षामा , असहाय , विपद्मा परेको विपन्न परिवारहरुका लागि सहयोग गर्दै आइरहेको नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य समेत रहेका अभियनता प्रताप गुरुङले बताउनुभयो ।
समाजसेवीहरुले जन्मदिनको अवसरमा यस कोषमा सहयोग गर्दै आएका छन् ।