आँबुखैरेनी, १३ चैत । पछिल्लो समय कोरोना महामारीको संक्रमण पुनः फैलिन थालेको भन्दै तनहुँको आँबुखैरेनी गाउँपालिकाले सावधानी अपनाउन विज्ञप्ती जारी गरेको छ।
आज जारी विज्ञप्ती अनुसार हाल कोभिड–१९ प्रकोप छिमेकी मुलुक भारत लगायत अन्य देशहरुमा क्रियाशिल भई नेपालमा समेत संक्रमित र मृत्युको दरमा समेत वृद्वि भएकोले खुल्ला सिमा नाकाको कारण गाउँपालिका र जिल्लाहरुमा संक्रमणको जोखिम बढ्दै गएकोले नागरिकलाई सावधानी अपनाउन र सचेत रहन आग्रह गरेको छ।
यस्तै गाउँपालिकाको शिघ्र प्रतिकार्य समुह निर्देशक समितिको निर्णय समेतका आधारमा नजिकिदै गरेको होली (फागु) पर्व भिडभाड नगरी घरमै मनाउन अपिल गरेको छ। स्वास्थ्य संस्था र कार्यालयहरुमा सेवा लिंदा अनिवार्य रुपमा मास्क र स्यानिटाईजर को प्रयोग गर्न, गराउन, जात्रा, मेला, महोत्सव, कन्सर्ट जस्ता भिडभाड हुने कार्यक्रम नगर्न नगराउन निर्देशन समेत जारी गरेको छ।
रनिङ सिल्ड प्रतियोगिता स्थगित
यसैबिच चैत २०, २१ र २२ गते संचालन हुने भनिएको आँबुखैरेनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतीयोगिता–२०७७ अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरेको छ। कोरो संक्रमण वृद्विको अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेल जानकारी दिनुभयो।