आँबुखैरेनी, १२ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकामा बालगृह निर्माण हुने भएको छ। यसका लागि आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले गाउँपालिकाको वडा नं. २ स्थित ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गरेका छन्। मन्त्रालयले स्थापना गर्न लागेको बालगृहका लागि मन्त्री महतोले ढकालटारमा रहेको जग्गाको अनुगमन गरेका हुन्।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ । प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडी बढाउनुपर्ने मन्त्री महतोले बताए। अनुगमनका क्रममा मन्त्री महतोले संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय पोखराका इन्जिनियरलाई इष्टिमेट गर्न निर्देशन दिए ।
ढकालटारमा विद्युत् प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलले जानकारी दिए। अनुगमनमा सहभागी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।