देवघाट । तनहुँको देवघाट गाउँपालिका–१, कोटा निवासी खुमराज थापामगरले ६ हजार ३८ मिटर उचाइको चुलु फार इस्ट (Chulu Far East) हिमाल सफलतापूर्वक आरोहण गरेका छन्। साहस, मेहनत र दृढ इच्छाशक्तिका साथ हिमालको चुचुरोमा पुग्न सफल थापामगरले आफ्नो जन्मभूमि देवघाटको पहिचानसमेत हिमालको शिखरसम्म पुर्याएका छन्।

हिमाल आरोहणका क्रममा उनले देवघाट गाउँपालिकाका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले ती स्थलहरू समेटिएको पोस्टर प्रदर्शन गरेका थिए। साथै, कोटा मगर समाजको पहिचान झल्किने ब्यानरसमेत हिमालको चुचुरोमा पुर्याएका छन्।

उनको यो सफलताले देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय पहिचानको प्रचारप्रसार तथा युवाहरूमा साहसिक गतिविधिप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आफ्नो व्यक्तिगत साहसिक उपलब्धिसँगै जन्मभूमि देवघाट र कोटा मगर समाजको पहिचानलाई अन्तर्राष्ट्रिय हिमाली क्षेत्रमा पुर्याउन सफल थापामगरको यस उपलब्धिलाई स्थानीयस्तरमा गौरवका रूपमा हेरिएको छ।