काठमाण्डौं, ३० असोज
कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जोगाउन प्रतिबन्ध लगाउन अपरिहार्य रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ।
यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो। उसले युरोपमा अब दैनिक एक हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन्।
यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए। कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ।
यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ। फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ।