काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको विवादित अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान प्रक्रिया अघि बढाइने बताउनुभएको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले सरकारले कुनै पनि मुद्दा दबाउन नखोज्ने स्पष्ट पार्नुभयो।
उहाँले आवश्यक परे अनुसन्धान गरी कानुनसम्मत रूपमा प्रक्रिया अघि बढाइने बताउनुभयो। “सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन। आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,” उहाँले भन्नुभयो।
सांसद सुनारसँग सम्बन्धित भनिएको महिलामाथि हिंसाको आरोपसहितको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा भइरहेको छ। उक्त अडियो प्रकरणबारे रास्वपाले पनि छानबिन गरिरहेको जनाइएको छ।