Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनै बनाउने सीप पुस्तान्तरण, श्रावणी स्नानको मौलिकता जोगाउने प्रयास

जनै बनाउने सीप पुस्तान्तरण, श्रावणी स्नानको मौलिकता जोगाउने प्रयास

रासस

१२, भाद्र २०८३
जनै बनाउने सीप पुस्तान्तरण, श्रावणी स्नानको मौलिकता जोगाउने प्रयास
images

पोखरा। आधुनिकताका नाममा हाम्रा विभिन्न संस्कार र संस्कृति हराउँदै गएका अवस्थामा पोखरा महानगरपालिका–३२ का ज्येष्ठ नागरिक भने वैदिक संस्कार र संस्कृतिलाई पुस्तान्तरणसँगै त्यसको मौलिकता जोगाउने अभियानमा क्रियाशील बनेका छन् ।

images
images
विगत दुई महिनायता पृथ्वीराजमार्गअन्तर्गत पोखरा–३२ तल्लो गगनगौँडाको गोगन मावि नजिकै रहेको पुरानो गाउँको चौतारामा जनै बनाउन सिक्ने र सिकाउने अभियान सञ्चालन गरिहेका यहाँका ज्येष्ठ नागरिकले आज वैदिक महत्वको श्रावणी स्नान संयुक्त रुपमा गरेका छन् । श्रावणी स्नानमा ज्येष्ठ नागरिकसँगै युवाको पनि सहभागिता रहेको ८१ वर्षीय कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन गरिने श्रावणी स्नान पछिल्ला पुुस्ताका लागि एकादेशको कथा जस्तै बन्ने अवस्थामा पुुगेको बताउँदै उहाँले यसको मौलिकता जोगाउनका लागि आफूूहरूले तल्लो गगनगौैँडाबाट प्रयास थालेको बताउनुभयो । शास्त्रीय विधानमा श्रावण शुुक्ल पूर्णिमाका दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले जनै फेर्नुपर्ने उल्लेखसँगै यो संस्कार प्राचीनकालदेखि प्रचलनमा आएको छ ।

तागाधारीहरूले जनैपूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नानका रुपमा लिइने अधिकारीले जानकारी दिनुभयो । श्रावणी स्नानको महत्वसँगै यसको प्रचलनलाई युवा पुुुस्तामा पनि पुगोस् भन्ने हेतुले तल्लो गगनगौँडामा आफूहरूले श्रावणी स्नान सुुरु गरेको उहाँले जानकारी दिनुुभयो ।

अर्का स्थानीयवासी घनश्याम खनालले आफूले आठ वर्ष अघि गैँडाकोटमा श्रावणी स्नान गरेको अनुुभव बताउँदै मौलिक परम्परालाई स्थानीय रुपमा पनि सञ्चालन गर्ने उद्देश्यका साथ तल्लो गगनगौँडामा यो जमर्को गरिएको बताउनुभयो । वैदिक विधिअनुसार जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाबन्धन बाँध्ने गर्दछन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको रक्षाबन्धन धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वासले पनि यसको विशिष्ट महत्व रहिआएको उहाँले जानकारी दिनुभयो । विधिपूूर्वक गरिने यो स्नानको आफ्नै विशिष्ट मौलिकता रहेको बताउनुहुने गोविन्द कोइराला हाम्रा संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्नु अपरिहार्य भएको धारणा राख्नुुभयो ।

“पुुस्तान्तरण नहुुने हो भने हाम्रा संस्कार संस्कृति पनि क्रमशः लोप हुुँदै जान्छन्”, खनालले भन्नुभयो, “हाम्रा संस्कृतिसँग युवापुुस्तालाई पनि सँगसँगै जोडेर लैजानुुपर्ने आवश्यकता रहिआएको छ ।”

श्रावणी स्नान गरेपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्दतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) लगाउने गरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले जनैपूर्णिमाको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको गुरुप्रसाद पौडेलले बताउनुभयो ।

श्रावणी स्नानसँगै आफूहरू विगतका वर्षदेखि नै वैदिक जनै बनाउने अभियानलाई पनि निरन्तरता दिएको ८१ वर्षीय अधिकारीले जानकारी दिनुुभयो । आफूहरूले विगत दुुई महिनायता पुुरानो गाउँको चौतारामा जम्मा भएर जनै बनाउने गरेको अनुुभव बताउँदै उहाँले यस अवधिमा जनै बनाउन इच्छा गर्नेलाई सीप पनि सिकाएको बताउनुुभयो ।

नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाइने बताउँदै अधिकारीले जनै बनाउने सीप राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने बताउनुुभयो । आफूहरूले जनै बनाएर बेच्नेभन्दा पनि यसबारे ज्ञानसीप नयाँ पुस्तामा पुगोस् भन्ने नै रहेको उहाँको भनाइ छ । अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन । जनै बनाउन सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगालिन्छ ।

सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उनले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने बताउनुुभयो । यसरी बनेका डोरालाई तीनपटकसम्म पट्याएपछि त्यसमा शिखा पारिने र जसलाई ‘ब्रह्म ग्रन्थी’ भनिने उहाँले जानकारी दिनुुभयो । अर्का ज्येष्ठ नागरिक कोइरालाका अनुुसार नियमपूर्वक बनाएर संस्कार गरिएका जनै मात्रै लगाउनुपर्ने र त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको छ । जनै बनाउने सीपसँगै यससँग जोडिएको श्रावणी स्नानको मौलिकतालाई जोगाउँदै यसको पुस्तान्तरण गर्ने अभियानमा आफूहरू लागेको उहाँको भनाइ छ । रासस

 
 

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १०:५५:५८ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology