चितवन । नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० चितवनले ३२औँ विश्व आदिवासी दिवस विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अधिकारीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। उनले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए। नेफिनका गतिविधिमा महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन० बागमती प्रदेशका काजीमान थिङले आदिवासी जनजाति समुदायले आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणसँगै अधिकार प्राप्तिका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए।राज्यका सबै तहमा आदिवासी जनजातिको समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले आदिवासी जनजातिको मौलिक संस्कृति र परम्परा नेपालको पहिचानसँग प्रत्यक्ष जोडिएको बताए। उनले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
नेफिन चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजातिका मुद्दा, अधिकार, भाषा, संस्कृति र पहिचानका सवाललाई सञ्चारमाध्यममार्फत समाजसम्म पुर्याउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताए। उनले आदिवासी जनजाति समुदायका गतिविधि तथा मुद्दालाई प्राथमिकताका साथ उठाउँदै उनीहरूको आवाजलाई अझ बुलन्द बनाउन नेफिन चितवन एकताबद्ध भएर अघि बढ्ने बताए।
थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले आदिवासी जनजातिको संस्कृति र परम्पराको संरक्षणका लागि समुदायस्तरबाटै निरन्तर पहल आवश्यक रहेको बताए। उनले सबै जातजातिको मौलिक पहिचानको सम्मान गर्दै विविधतामा एकताको भावना विकास गर्नुपर्नेमा जोड दिए। आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि स्थानीय तहले नीतिगत रूपमा पहल गर्नुपर्ने उनको धारणा थियो।
कार्यक्रममा चितवनमा रहेका विभिन्न आदिवासी जनजाति समुदायका रेम वर्क, नृत्य, मौलिक भेषभूषा तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। विभिन्न जातजातिका मौलिक कला र संस्कृति झल्काउने प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। नेपाल आदिवासी जनजाति महिला महासंघ चितवनका अध्यक्ष शोभा थापा मगरको संयोजकत्वमा रेम वर्क तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रेम वर्कमा सहभागी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई प्रोत्साहनस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न जाति तथा समुदायका संघसंस्था एवं अतिथिलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
यसैबीच नेफिनका संस्थापक अध्यक्ष ओम गौचम र पूर्वअध्यक्ष पदमबहादुर गुरुङलाई भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी र नेफिन चितवनका अध्यक्ष सागर कुमालले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए।
समाचारका माध्यमबाट नेफिनका गतिविधि तथा आदिवासी जनजातिका सवाललाई समाजसम्म पुर्याउन योगदान गरेको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० चितवनलाई संस्थागत रूपमा सम्मान गरिएको थियो। नेफिन चितवनका अध्यक्ष सागर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिलन थापा मगरले गरेका थिए भने उपाध्यक्ष बाबुलाल थिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमले चितवनमा रहेका विभिन्न आदिवासी जनजाति समुदायबीच आपसी एकता, सहकार्य तथा मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।