कोराक । हिजोआज जिम्लिङ गाउँ उक्लिने नयाँ मान्छेलाई लाग्न सक्छ, चेपाङको घर पनि यति ठूलो ! ढुङ्गाले छाएको तीनतले घर देख्दा जोकसैलाई पनि अचम्म लाग्न सक्छ ! किनकि सामान्यतया ग्रामीण भेगमा चेपाङ समुदायको यति ठूलो संरचना देख्न पाइँदैन । आर्थिक हिसाबले निकै विपन्न समुदायमा पर्ने अधिकांश चेपाङ समुदाय सामान्यभन्दा पनि सामान्य घरमा बस्दै आएका छन् ।
बजार र बजारको वरिपरि बस्नेहरुले सुविधासम्पन्न घर बनाएरै बसेका छन् । तर, बजारबाट पनि दुई घन्टाको सवारी यात्रापछि पुगिने विकट चेपाङबस्तीमा भव्य संरचना देख्दा यहाँका चेपाङ पनि सम्पन्नशाली रहेछन् भनेर सोझै अड्कल काट्न सक्छन् । तर, जिम्लिङमा देखिएको यो भव्य घरमा चेपाङ परिवार बस्दै आए पनि यो घर भने उप्रेती परिवारको हो ।
करिब तीन दशकअघि उप्रेती परिवारले गाउँ छाडेपछि यो घरको संरक्षण र प्रयोग यहीँका स्थानीय चेपाङ परिवारले गरिरहेका छन् । गाउँका अगुवा विश्वास चेपाङका अनुसार गाउँमा करिब २०५५/०५६ सालसम्म उप्रेती, सेढाईं, कँडेल, खनाल, अधिकारीलगायतका ब्राह्मण समुदायको बसोवास थियो । विभिन्न अवसर र रोजगारका लागि उनीहरु भण्डारा, खुरखुरे, बडहरालगायतका स्थानमा बसाइँ सरेपछि अहिले गाउँ ब्राह्मण समुदायविहीन बन्न पुगेको स्थानीय विश्वास चेपाङ बताउँछन् ।
‘मैले सुनेअनुसार जिम्लिङमा ब्राह्मण समुदायको १४ घर थियो’, बूढापाकाको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले यहाँ चेपाङ समुदायको मात्रै बसोवास छ ।’ उनका अनुसार गाउँमा अधिकारी परिवारले सबैभन्दा पहिले गाउँ छाडेका थिए । ब्राह्मण समुदायले गाउँ छाडेपछि उनीहरुको घरसँगै बारी पनि चेपाङ समुदायले नै कमाएर खाइरहेका छन् । ‘यो गाउँको राम्रो ठाउँजति सबै ब्राह्मण समुदायकै हो । अहिले सबै चेपाङहरुले खेतीपाती गरेर गुजारा चलाउँदै आएका छन्’, उनी भन्छन् ।
तर, ब्राह्मण समुदायले बारी भने बेचेका छैनन् । पछिल्लो समय केही परिवार भने बेलामौकामा गाउँमा आएर आफ्नो घरबारी हेरेर फर्किने गरेको उनले सुनाए । ‘चितवन भन्नेबित्तिकै कतिपय मान्छेहरुलाई गर्मी ठाउँ भन्ने पर्छ । तर, यति शीतल ठाउँ पनि छ भन्ने याद नहुन सक्छ’, उनले भने, ‘त्यही भएर होला बजार झरिसकेका परिवार पनि फेरि गाउँ फर्किने योजनामा छन् ।’
गाउँ आउँदा केही परिवारले गाउँमा भएको पुरानो घरलाई मर्मतसम्भार गरेर बस्ने योजना बनाएको उनको भनाइ छ । ‘अरु समयमा बजार बसे पनि गर्मी मौसममा गाउँमै आएर बस्ने भन्नुभएको छ’, उनले भने, ‘उहाँहरु गाउँमै फर्किनुभयो भने हामीलाई पनि राम्रो हुन्छ ।’ जतिले गाउँ छाडे उनीहरु सबैको बारी पुर्जावाला रहेको उनले बताए । ‘ब्राह्मण समुदायको बारी सबै नम्बरी छ, चेपाङ समुदायले भने अहिलेसम्म पनि पुर्जा पाएको छैन’, उनले भने ।
तीन दशकअघि छाडेको घरबारीमा त्यतिबेलाकै केराको बगैँचा, भोगटे, अम्बा, सुन्तला, कटहरलगायत फलफूलका बिरूवा अहिले पनि उस्तै छन् । अहिले गाउँमा बिजुली बत्ती, खानेपानी र सडक सञ्जालले जोडिइसकेको हुँदा कुनै समय सुविधा खोज्दै बजार झरेकाहरु पनि गाउँमै फर्किने रहर गरिरहेका उनको भनाइ छ ।
शिक्षा र स्वास्थ्यको व्यवस्था पनि राम्रो भयो भने गाउँ छाडेका धेरै परिवार गाउँमै फर्किन सक्ने उनको अनुमान छ । जिम्लिङमा चेपाङ समुदायको बसोवास रहे पनि वरिपरिका गाउँमा भने तामाङ समुदायको पनि बसोवास छ ।