भरतपुर । गएको असार ३१ गते नारायणी नदीको पुलबाट दुई जना सम्पर्कविहीन भए । साउन ४ गते अर्का एक पुरुष नारायणी पुलबाट सम्पर्कविहीन बने ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–११ निवासी सन्दीपकुमार अर्याल र भरतपुर–४ लङ्कू, विशालचोक निवासी रितु सापकोटा कँडेल दुवैजना असार ३१ गते नारायणी नदीको पुलबाट सम्पर्कविहीन भएका हुन् । दुवैजना पुलको छेउसम्म पुगेको नारायणगढतर्फको सिसी टिभी फुटेजमा देखिन्छ, तर पुल पार गरेको देखिँदैन । बिहीबार बेलुकासम्म दुवैजनाको कुनै अत्तोपत्तो छैन ।
यही साउन ४ गते गैँडाकोट–१ निवासी ४० वर्षका सन्तोष रानाभाट नारायणी पुलबाट सम्पर्कविहीन भए । रानाभाटले प्रयोग गरेको लेडिज साइकल पुलमै भेटियो । उनको पनि बिहीबार साँझसम्म केही पत्ता लागेको छैन ।
उनीहरुका परिवार गहिरो पीडामा छन् । आफन्त, सुरक्षाकर्मीहरु खोजीमा सक्रिय भइरहेका छन्, तर कुनै जानकारी प्राप्त भएको छैन । सम्पर्कविहीन हुनेहरुको केही कागजात, चपल, पैसाहरु पुलमा भेटिएका छन् ।
चितवन प्रहरीका अनुसार पछिल्लो समय नारायणीको पुलबाट हाम फालेर आत्महत्या गर्ने क्रम झन् बढेको छ । महिनामा दुई÷तीन जनाले नारायणीको पुलबाट हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
नारायणीको पुलबाट हाम फालेर एकपछिअर्को घटना घट्न थालेपछि नारायणी पुल सुरक्षित बनाउन सामाजिक अभियन्ता अर्जुन भुसालसहितको समूहले सम्बन्धित निकायमा ध्यानाकर्षण गरेका छन् । उनीहरुले नारायणी नदीको पुललाई सुरक्षित बनाउन दबाब दिएका हुन् ।
पुललाई सुरक्षित बनाउन दबाब बढाए पनि यसतर्फ सम्बन्धित निकायको चासो र चिन्ता कम भएको देखिन्छ ।
पुललाई सुरक्षित बनाउन अर्जुन भुसालसहितको टोलीले अहिले सम्बन्धित निकायमा गरेको दबाब पहिलो होइन, २०७६ साल कार्तिकमा पनि पुलबाट हाम फालेर आत्महत्या गर्ने क्रम बढेपछि भरतपुरका अभियन्ता युवाहरुले तारबार लगाउन दबाब दिएका थिए ।
भरतपुर महानगर युवा सञ्जालका संयोजक सन्देश वाग्लेको नेतृत्वमा गएको टोलीले तत्कालीन कात्तिक १८ गते भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरुले पुलको दायाँ–बायाँतर्फ सुरक्षित रेलिङ र तरबार लगाउनुपर्ने माग गरेका थिए, तर काम हुन सकेन ।
त्यतिबेला चितवनका प्रहरी प्रमुखमा दानबहादुर मल्ल थिए । उनले सुरक्षाका लागि पुलमा बार लगाउनुपर्ने आवाज त उठाए, तर काममा कुनै सिन्को भाँचिएन । तत्कालीन समयमा भरतपुर महानगरपालिकाले प्राविधिकहरुको सल्लाहमा सुरक्षाका लागि उपयुक्त काम गर्ने जनायो, तर कुनै काम भएन ।
जब–जब नारायणी पुलबाट आत्महत्या गर्ने क्रम बढ्छ तब पुलको सुरक्षाको कुरा उठ्छ, अनि दिनमै फेरि सेलाइहाल्छ । अहिले पुनः अभियन्ता अर्जुन भुसालको समूहले भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवनमा ध्यानाकर्षणको पत्रसहित नारायणी पुलको सुरक्षाको कुरा उठायो । अहिलेको ध्यानाकर्षणबाट सम्बन्धित निकायको चासो र चिन्ता हेर्न बाँकी नै छ ।
नारायणी पुलमा पर्याप्त सिसी क्यामेरा जडान छैन । पुलपारि गैँडाकोटतर्फ सिसी क्यामेरा बिग्रेको छ । पुलका दुवैतर्फ पैदलयात्रीहरुका लागि लगाइएको रेलिङ होचो छ । टाउको छिर्ने रेलिङ छन् । पैदलयात्रीहरु हिँड्ने ठाउँ ज्यादै सानो छ । जोकोही सजिलै हाम फाल्न सक्ने अवस्था देखिन्छ ।
‘पुलमा तारबार लगाएमा, पर्याप्त सिसी क्यामेरा जडान गरेको खण्डमा, २४सै घन्टा सुरक्षाकर्मी खटाए, हेल्प डेस्कको व्यवस्थापन गर्न सके, रेलिङ पनि अग्लो बनाउन पाए पुलबाट हाम फालेर ज्यान फाल्थेनन् भन्ने कुरा हाम्रो हो’, सामाजिक अभियन्ता अर्जुन भुसालले भने, ‘टाउको सजिलै छिर्न सक्ने रेलिङ छ, एउटा खुट्टा उठाए मात्र रेलिङ सजिलै पार गर्न सकिन्छ । पुललाई सुरक्षित बनाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गरेका हौँ, हाम्रो काम आवाज उठाउने हो, उठाइरहन्छौँ ।’
रेलिङ होचो र मानिस छिर्न मिल्नेसमेत भएकाले तत्कालै पुलको सतहदेखि कम्तीमा पनि ३ मिटर अग्लो तारजाली लगाउनुपर्ने सुझाव अभियन्ताहरुले दिएका छन् । उनीहरुका अनुुुसार जालीमाथिको एक मिटर भागमा कसैले छुँदा साइरन बज्ने प्रविधि जडान गर्न सके अझ राम्रो हुन्थ्यो, र पुलबाट हाम फालेर आत्महत्या गर्ने क्रम निकै घट्ने थियो ।
पुलमा सुरक्षाकर्मीको निगरानी हुने र शङ्का लाग्नेहरुलाई तत्कालै सोधपुछ गर्न सकेमात्रै पनि पुलबाट हुने आत्महत्या रोक्न सकिने बुझाइ अभियन्ताहरुको छ । अभियन्ताका अनुसार पोखराको महेन्द्र पुलमा अग्लो बार छ, त्यस्तै नारायणीको पुलमा पनि मानिस छिर्न नमिल्ने बार लगाउन आवश्यक छ ।
२०३६ सालमा बनेको नारायणी नदीमाथिको पुल दुई लेनको छ । होचो रेलिङसहितको फुटपाथ भएको पुल करिब ४०२ मिटर लम्बाइको छ । पश्चिमतर्फ गैँडाकोट र पूर्वतिर नारायणगढ बजार भएकोले पुलमा अधिक चाप हुने गर्दछ । पुल जीर्ण पनि बन्दैछ । नारायणगढ आइपुग्ने मानिसहरु यो पुलमा जाने, फोटो खिच्ने रमाउने पनि गर्छन्, तर पुल सुरक्षित हुन सकेको छैन ।
मानसिक रोग विशेषज्ञहरु पुलमा छेकबार लगाउँदैमा आत्महत्या नरोकिने बताउँछन् । पुललाई सुरक्षित बनाएर पुलबाट हुने आत्महत्या रोक्न सकिएला, तर घर–घरमा लुकेर बसेको मानसिक रोग समाधान हुँदैन । टाउको दुखेको औषधि अरु ठाउँमा लगाएर सबै समस्या समाधान नहुने मानसिक रोग विशेषज्ञहरुको भनाइ छ ।
मानसिक रोग विशेषज्ञ डा. सुनीलकुमार शाहका अनुसार पुलमा जाली लगाउनु र पुललाई सुरक्षित बनाउनु, सिसी क्यामेरा राख्नु, अग्लो रेलिङ हाल्नु त राम्रो कुरो हो, त्यहाँबाट हुने घटना रोक्न सकिएला, तर घरघरको समस्या बन्दै गएको मानसिक रोग र यसका समस्या हल गर्न जनचेतना फैलाउनुपर्छ । मानसिक समस्या समयमै औषधोपचार गरे हल हुन्छ भन्ने चेतना सबैतिर फिँजाउनुपर्छ ।