चितवन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह गाभ्न सकिने विषयमा सूचना जारी गरेपछि नेपाल चेपाङ संघले चेपाङ बाहुल्य क्षेत्रलाई समायोजन गरी ‘झोरालाङ’ गाउँपालिका बनाउन सरकारलाई सुझाव दिएको छ। संविधानसभाका सदस्यसमेत रहेका चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ बसोबास भएका तीन जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका हुन्।
यसअघि संघको प्रस्तावअनुसार मकवानपुरको ‘राक्सिराङ’ र धादिङको ‘रोराङ’ (बेनीघाट–रोराङ) गाउँपालिका कायम भएको थियो। सोही समयमा चितवन, मकवानपुर र धादिङको सीमाना जोडिएका केही क्षेत्रलाई समेटेर ‘झोरालाङ’ गाउँपालिका कायम गर्न प्रस्ताव गरिए पनि राजनैतिक सहमति जुट्न नसक्दा सफल नभएको उनले बताए।
तर, यसपटक मन्त्रालयले पुनः सुझाव र प्र्रस्ताव माग गरेपछि चेपाङ संघले चेपाङ स्वायत्त क्षेत्रमा पर्ने चितवनको राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३, कालिका नगरपालिकाको वडा नम्बर १० र ११, धादिङको बेनीघाट–रोराङ गाउँपालिकाको वडा नम्बर ८, ९ र १० तथा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ मिलाएर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरिएको अध्यक्ष चेपाङले बताए।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार स्थानीय तहको सीमा र नाम हेरफेर, थपघट गर्न सकिने विषय बाहिर आएपछि हामीले हाम्रो पहिचानको लागि झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेका हौँ,’ उनले भने, ‘नेपाल चेपाङ संघले केन्द्रीयस्तरमै नामाङ्कन तथा सिमाङ्कनका लागि सरकारलाई आवश्यक सहयोग र समन्वय गर्न तयार छ।’