Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नवदुर्गा सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको भीड

नवदुर्गा सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको भीड

इच्छाकामना न्युज

८, चैत्र २०८२
नवदुर्गा सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको भीड
images

रामकृष्ण बोहरा, बागलुङ। चैते दशैंअन्तर्गत नवदुर्गा सुरु भएसँगै देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । चैते दशैं मेलाको अवसरमा मन्दिर परिसरमा चहलपहल पनि बढेको छ ।

images
images

कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत ९ देखि १४ गतेसम्म औपचारिक मेला सञ्चालन हुने भएको छ । नवदुर्गा सुरु भएसँगै शुक्रबारदेखि नै मन्दिरमा पूजा–अर्चनाका लागि आउने भक्तजनको भीड बढ्न थालेको हो ।

सयौँ वर्षदेखि मेला लाग्दै आएको यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । मन्दिर आसपासमा एक सयभन्दा बढी नयाँ पसल तथा होटल थपिएका छन् भने मौलिक सामग्रीको बिक्रीसमेत सुरु भइसकेको छ । सबै व्यवसायलाई व्यवस्थित बनाउँदै अन्य गतिविधि सञ्चालन गरिने गुठीका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो ।

देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने भएकाले यस मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ । चैते दशैंको प्रतिपदादेखि रामनवमीसम्म करिब पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ ।

मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा हालसम्म १२ टोली दर्ता भइसकेका छन् भने १६ टोलीसम्म सहभागी हुने सम्भावना रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

गुठीको व्यवस्थापनमा सञ्चालन हुने मेलामा मौलिक गीत–संगीतका कार्यक्रमसमेत समावेश गरिएका छन् । बागलुङका रणसिंघिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघालगायत गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन् । अमलाचौरका कारीगरले बनाएका काठका ठेकीसमेत मेलामा बिक्रीका लागि राखिने गर्छन् ।

किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गरिएको मानिन्छ । सोही आधारमा विसं १५९१ देखि यस मन्दिरमा पूजा र मेला सञ्चालन हुँदै आएको छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०८२ आइतवार - ०८:३१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology