काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (माघ १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले माघ १२ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकेको छ। सो प्रक्रिया सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गरिएको हो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भइसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आसब्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३० वर्ष बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १६.०९ वर्ष रहेको छ। कम्पनीले २०८१ साल वैशाख ६ गतेदेखि नै विद्युत उत्पादन सुरु गरिसकेको छ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।