Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

त्रिशूलीमा गडेको बस निकाल्न नसक्दा उद्धार चुनौतीपूर्ण, कटिङ आवश्यक : विज्ञ

त्रिशूलीमा गडेको बस निकाल्न नसक्दा उद्धार चुनौतीपूर्ण, कटिङ आवश्यक : विज्ञ

त्रिशूलीमा गडेको बस निकाल्न नसक्दा उद्धार चुनौतीपूर्ण, कटिङ आवश्यक : विज्ञ

मुग्लिन, माघ ८ । डेढ वर्षअघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा फेला परे पनि अझै निकाल्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदीमा खसेको बस दस दिनअघि घटनास्थल नजिकै नदी किनारमा देखिएको थियो।

images

बसको माथिल्लो भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्राविधिक टोलीले नियमित रूपमा उद्धार प्रयास गरिरहेका छन्। तर भौगोलिक जटिलता र आवश्यक उपकरणको अभावका कारण बस निकाल्न नसकिएको जनाइएको छ।

नेपाली सेना नयाँ सबुज गणका क्याप्टेन दीपराज राउतले बस भेटिएको स्थान अत्यन्तै कठिन भू–भागमा रहेकाले ठूला उपकरण लैजान समस्या भएको बताउनुभयो।
“अहिलेकै उद्धार प्रणाली र उपकरणले बस निकाल्न सम्भव देखिँदैन,” उहाँले भन्नुभयो।

उद्धारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार तथा गोताखोर ललितबहादुर खाम्चाका अनुसार बस नदीको गहिरो भागमा पुरिएको छ र बसभित्र ठूलो मात्रामा बालुवा भरिएकाले निकाल्न कठिन भएको हो।
“तनहुँको ‘टायर कान्छा’ प्राविधिक टोली र बुटवलबाट आएको टोलीले चेन पुल्ली, घिर्नी र हाइड्रोलिक प्रणालीमार्फत प्रयास गरे पनि सफल हुन सकेन,” उहाँले बताउनुभयो।

२०८१ असोज २८ गते ६५ यात्रु बोकेका बागमती प्रदेश ०३–०२४९५ ख ००१ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। तीमध्ये २३ जनाको मृत्यु भइसकेको छ भने ३९ जना अझै बेपत्ता छन्। बेपत्ता बसमध्ये गणपति डिलक्स बस गत पुस २७ गते सिमलताल नजिकै तनहुँतर्फको त्रिशूली नदी किनारमा फेला परेको थियो।

लगातारको असफल प्रयासपछि उद्धारमा संलग्न प्राविधिक टोली निराश देखिएको छ। हवल्दार खाम्चाले बसलाई टुक्रा–टुक्रा पारेर निकाल्न ‘ग्यास कटिङ’ नै उपयुक्त विकल्प भएको सुझाव दिनुभयो।
“अब बसलाई काटेर निकाल्नुको विकल्प छैन,” उहाँले भन्नुभयो।

क्याप्टेन राउतले भौगोलिक अवस्था अनुसार ठूला उपकरण पुर्‍याउन सकिए बस निकाल्न सम्भव हुने बताउनुभयो।
“ठूला उपकरण प्रयोग गरेर उद्धार गर्नु अहिलेको आवश्यकता हो,” उहाँको भनाइ छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बस निकाल्न नयाँ प्रविधि र उपायको खोजी भइरहेको जानकारी दिनुभयो।
“अहिलेसम्मका प्रयास अपेक्षित रूपमा सफल भएनन्। बिहीबार चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी तथा विज्ञ टोलीसहित घटनास्थलमै छलफल गरेर सहज उपाय खोज्ने तयारी गरिएको छ,” उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :माघ ८, २०८२ बिहिवार - ०८:३९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology