आँबुखैरेनी, १ माघ । "स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग" भन्ने मूल नाराका साथ आँबुखैरेनीमा एघारौँ राष्ट्रिय योग दिवस मनाइएको छ । आँबुखैरेनी योग तथा खुसी समाजको आयोजनामा साताव्यापी योग सप्ताह कार्यक्रम सञ्चालन गरी राष्ट्रिय योग दिवस मनाइएको हो ।
कार्यक्रम समाजकी अध्यक्ष पम्फादेवी श्रेष्ठको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ की वडाध्यक्ष मिलन भूजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
योग सप्ताहको सुरुआतसँगै आँबुखैरेनी–१, बरादीमा समाजद्वारा “मिलिजुली योग साधना केन्द्र” स्थापना गरिएको छ । योग दिवसको अवसरमा १०८ राउण्ड सूर्य नमस्कारसहित विभिन्न योग आसनहरू प्रदर्शन गरिएको थियो । जसअन्तर्गत शिर्षासन तथा उर्ध्वताडासन, सर्वाङासन तथा हलासन, चक्रासन तथा नौकासन, वृक्षासन तथा ध्रुवासन, भूनमन आसन, धनुरासन तथा उष्ट्रासन, मयुरासन तथा तौलासन, भूमिनमस्कारलगायत योग अभ्यास तथा विविध मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कार्यक्रमका अवसरमा आजीवन सदस्य तथा योग शिक्षकहरूलाई सम्मानपत्र र प्रमाणपत्र वितरण गरिएको आँबुखैरेनी योग तथा खुसी समाजकी सचिव कुमारी गुरुङले जानकारी दिनुभएको छ।