गोरखा, पुस २७ — गोरखाको शहीद लखन गाउँपालिकाका विभिन्न वडाका खेतबारीमा गरिएको माटो परीक्षणका क्रममा अम्लीयपन भेटिएको छ। गाउँपालिकाले कृषकको खेतबारीको उर्बराशक्ति जोगाउँदै कृषि उत्पादन बढाउने उद्देश्यले सञ्चालन गरेको माटो परीक्षण शिविरबाट ४ वटा वडामा अम्लीय माटो फेला परेको हो।
शहीद लखन गाउँपालिकाका कृषि शाखा प्रमुख नबिन अधिकारीका अनुसार वडा नम्बर ९, ८, ७ र ६ मा सञ्चालन गरिएको शिविरमा अधिकांश स्थानको माटो अम्लीय देखिएको छ। परीक्षणअनुसार वडा नम्बर ९ मा २७ स्थान, वडा नम्बर ८ मा ४४ स्थान, वडा नम्बर ७ मा २४ स्थान र वडा नम्बर ६ मा १०९ स्थानमा अम्लीयपन भेटिएको गाउँपालिकाले जनाएको छ।
कृषि शाखा प्रमुख अधिकारीले किसानले माटोको अवस्था नबुझी अनियन्त्रित रूपमा रासायनिक मल प्रयोग गर्दा माटोको उर्बराशक्ति ह्रास हुँदै गएको बताए। “जथाभावी रासायनिक मल प्रयोगका कारण माटो कमजोर बन्दै गएकाले आवश्यक उपचार तथा सिफारिस गर्न माटो परीक्षण शिविर सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो।
माटो परीक्षणका क्रममा अम्लीयपन, खाद्यतत्त्वको अवस्था तथा बालीलाई पोषण दिन सक्ने क्षमता जाँच गरिएको अधिकारीले जानकारी दिनुभयो। परीक्षणबाट अधिकांश माटोमा अम्लीयपन बढी देखिएको, नाइट्रोजन र पोटासको मात्रा मध्यम भए पनि फस्फोरस अत्यन्त न्यून रहेको पाइएको छ।
अम्लीय माटो भएका क्षेत्रमा कृषि चुनाको प्रयोग गर्न सिफारिस गरिएको छ भने कुन क्षेत्रमा कुन बाली उपयुक्त हुन्छ भन्ने विषयमा कृषकलाई परामर्श दिइएको गाउँपालिकाले जनाएको छ। यसले उत्पादन बढाउन र गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
माया प्रेम संस्थाको सहयोगमा हालसम्म ३ सय नमुनाको माटो परीक्षण गरिएको छ। शनिबारसम्म चार वटा वडाका कुल २०४ जना किसान शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन्। गाउँपालिकाले आफ्नै बजेटबाट बाँकी वडामा पनि आगामी दिनमा माटो परीक्षण शिविर सञ्चालन गर्ने तयारी गरेको कृषि शाखाले जनाएको छ।