Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

थारू संस्कारअनुसार विवाह गर्ने जोडीलाई दुई लाख

थारू संस्कारअनुसार विवाह गर्ने जोडीलाई दुई लाख

इच्छाकामना न्युज

२६, पौष २०८२
थारू संस्कारअनुसार विवाह गर्ने जोडीलाई दुई लाख
images

सन्तोष दहित, दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारू समुदायमा परम्परागत संस्कार र रीतिरिवाजअनुसार गरिने विवाह (बर्का भ्वाज) गर्ने जोडीलाई दुई लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । शनिबार तुलसीपुरमा आयोजित नमुना भुह्यारथान तुलसीपुरको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३, मटाँवा महासंघ तुलसीपुरलगायत संस्थाहरूको सहआयोजनामा भएको माघ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

images
images

पछिल्ला वर्षहरूमा थारू संस्कारअनुसार गरिने विवाह परम्परा हराउँदै गएको उल्लेख गर्दै चौधरीले त्यसको संरक्षण र प्रवर्धनका लागि थारु सांस्कृतिक संग्रहालयमार्फत दुलाहा पक्षलाई एक लाख र दुलही पक्षलाई एक लाख गरी कुल दुई लाख सहयोग गरिने बताउनुभयो ।

त्यस्तै उहाँले थारु भेषभूषा, कला, संस्कृति तथा मौलिक गीत ढुम्रु, महोत्या, मागर, सज्ना, मैना, बर्किमार, छोक्रा, हुर्डङ्ग्या र दशैंमा गाइने सङ्ख्या लगायत गीतहरूको संरक्षण र प्रवर्धनका लागि विशेष प्याकेजसहित सहयोग योजना ल्याइएको जानकारी दिनुभयो । संग्रहालयबाट प्राप्त आम्दानी थारू भाषा, कला, संस्कृति, भेषभूषा र गीतसंगीतको संरक्षणमा लगानी गरिँदै आएको बताउँदै उहाँले थारू समुदायका विभिन्न विधामा अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याइएको जानकारी दिनुभयो ।

थारू भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी विषयमा स्नातकोत्तर तहको शोध (थेसिस) लेख्ने विद्यार्थीलाई पनि सहयोग गर्ने योजना रहेको उहाँको भनाइ थियो । “हाम्रो कला र संस्कृति रहे मात्र हामी थारू रहन्छौं,” चौधरीले भन्नुभयो, “त्यसैले हाम्रो पहिचान र अस्तित्व जोगाउन हामी आफैं सचेत र जागरूक हुनुपर्छ ।”

माघ थारू समुदायको महान पर्व मात्र नभई नयाँ वर्षको रूपमा पनि मनाउदै आएको चर्चा गर्दै उहाँले यो पर्वले थारु समुदाय मात्र होइन, छिमेकी समुदायबिच समेत सामाजिक एकता र सद्भाव बढाउने बताउनुभयो । माघ आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पर्व भएको उल्लेख गर्दै उहाँले माघी डेवानीमार्फत गाउँमा मटाँवा, अघवा र चौकदार चयन गर्ने परम्परा पुनः निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

“मटाँवा र बरघर जोगिए मात्र हाम्रो पूजा, परम्परा, कला र संस्कृति सुरक्षित रहन्छ,” उहाँले भन्नुभयो, “सिंगो गाउँको संस्कृति मटाँवा र बरघरमै अडिएको हुन्छ, त्यसैले हरेक गाउँमा माघी डेवानीमार्फत मटाँवा र बरघर चयन गर्नुपर्छ ।” पहिले माघी डेवानीमार्फत बितेको वर्षको समीक्षा र आउने वर्षको कार्ययोजना बनाउने चलन रहे पनि अहिले त्यो अभ्यास थोरै गाउँमा मात्र सीमित भएको उल्लेख गर्दै उहाँले यस महत्वपूर्ण परम्परालाई पुनर्जीवित गर्न आग्रह गर्नुभयो ।

नमुना भुह्यारथानका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धिजीवी आसाराम चौधरीले ढुम्रु गीतको महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माघमा गाइने ढुम्रु गीत तथा मघौटा नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण नमुना भुह्यारथानका सचिव नारायण चौधरीले गर्नुभएको थियो । कार्यक्रममा थारु भाषा, साहित्य तथा कला संस्कृति क्षेत्रमा योगदान पुर्‍याउनुहुने अग्रजहरुलाई सम्मान समेत गरिएको थियो ।

images
प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - ०८:२५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology