Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

इच्छाकामना न्युज

२६, पौष २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
images

वालिङ। स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो ।

images
images

वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिए । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम रु ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उनले बताए ।

सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट रु दश करोड बढी आम्दानी भएको पाइयो”, उनले भने, “वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुने छ ।”

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो । आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा पन्ध्र हजार ५०० बिरुवा रोपिएको थियो । यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोग कीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उनले बताए ।

“यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ”, उनले भने, “ज्याला, ढुवानीसहित हाल प्रतिकेजी रु ७० का दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन ।”

भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष रु १५ लाख बढीको सुन्तला बिक्री गर्नुभएको छ । उनले अहिले प्रतिकेजी रु ७० का दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहेका छन् । सोही वडाको लोलुङ्गाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष रु १५ लाख बढीको सुन्तला बिक्री गरेका हुन्। यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुनेक्रममा छन् ।

स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोड मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

images
प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - ०८:२१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology