काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा थप २० मिटर मापदण्ड छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलित स्थानीयबासीले आज (बिहीबार) पुनः माइतीघर मण्डलामा शक्ति प्रदर्शन गरेका छन् ।
यसअघि पुस १७ गतेका लागि तोकिएको पेसी सरेर आजका लागि तय भएपछि स्थानीय पीडितहरूले सडकबाटै अदालत र सरकारलाई खबरदारी गरेका हुन् ।
सर्वोच्चमा सरकारले दर्ता गराएको पुनरावलोकन (भ्याकेट) निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएसँगै सयौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीले ‘फैसला होइन, न्याय दे’ भन्दै नाराबाजी गरेका छन् । उनीहरूले हातमा ‘जनतालाई उठिबास गर्ने गैरन्यायिक मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डका नाममा जनता विस्थापित गर्न पाइँदैन’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । प्रदर्शनलाई मध्यनजर गर्दै माइतीघर क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।