मुग्लिन, ११ पुस । चितवनको इच्छाकमना ५ मुग्लिनमा शुक्रबारदेखि दोश्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु भएको छ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको आयोजनामा सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु भएको हो ।
वागमती प्रदेशसभा सदस्य तथा पूर्व वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सुन्तला महोत्सव तथा फुड फेस्टिवलको एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य सिलवालले महोत्सवले इच्छाकामनाको सुन्तलाको बजारीकरणमा सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।यस महोत्सवले २४ सै घण्टा पाहुनाहरुलाई मिठो सत्कारसहित स्वादिष्ट खाना खुवाउने यस मुग्लिन बजारको होटल व्यवसायलाई थप टेवा पुग्ने उहाँको भनाई छ । मुग्लिन बजारले आफ्नो सेवालाई थप सुधार गरेको छ भन्ने सन्देश दिने अवसर मिलेको पनि उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मुग्लिनमा इच्छाकामनासहित गोरखा, धादिङ र तनहुँका किसानहरुले उत्पादन गरेका सुन्तलाहरु बिक्री वितरण हुने गरेको बताउनुभयो । यहाँबाट सुन्तला बिक्री वितरण हुदाँ किसानलाई सहज भएको बताउनुभयो । यस अघि गाउँपालिकाले किसानको बगैँचामै सुन्तला महोत्सव आयोजना गरेको बताउनुभयो । यस पटक भने किसानले उत्पादन गरेको सुन्तला लगायत फलफुल तरकारी बिक्री वितरण हुने संगमस्थल मुग्लिन बजारमा आयोजना गरिएको बताउनुभयो । किसानलाई बिक्री वितरण गर्न र यहाँका स्थानीय स–साना व्यावसायीहरुलाई टेवा पु¥याउने उदेश्यका मुग्लिन बजारमा आयोजना गरिएको बताउनुभयो । २४ सै घण्टा सेवा प्रदान गर्दै आएको मुग्लिन बजारलाई यस सुन्तला महोत्सव तथा फुड फेस्टिवलले थप गुल्जार बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।यस अवसरमा यहाँका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा पनि टेवा पुग्ने बताउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले आतिथ्यता क्षेत्रमा मुग्लिन बजारले देशव्यापी रुपमा आर्जन गरेको साखलाई निरन्तरता दिने र कृषि उपजलाई होटल व्यवसायसँग जोड्न टेवा पुग्ने बताउनुभयो ।
होटल व्यवसायी संघ, चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गरी स्थानीय परिकार र होटल व्यवसायको सेवा सुविधाको बजारीकरण गर्न र महोत्सवले स्थानीय होटल व्यवसायीहरूलाई आफ्ना परिकार पस्कने, स्वच्छ र स्वस्थ खानाको प्रवद्र्धन गर्ने तथा स्थानीय मौलिक खानालाई “ब्रान्डिङ” गर्ने अवसर प्रदान गरेको बताउनुभयो । होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले इच्छाकामना क्षेत्रको कृषि, पर्यटन र व्यवसाय विकासमा टेवा पुग्ने बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताउनुभयो । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहेको छ । महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।

फुड फेस्टिवल हुदाँ स्थानीय होटल व्यवसायीमा उत्साह छाएको होटल व्यवसायी संघ इच्छाकामना इकाइका अध्यक्ष पुजन भण्डारीले बताउनुभयो । उहाँले यहाँको थकाली तथा नेवारी खानाका साथै इच्छाकामनामा उत्पादन हुने स्थानीय रैथाने बालिको परिकारहरुको स्वाद लिन पाइने बताउनुभयो । उहाँले यस महोत्सव अवधीभर पाहुनाहरुलाई खान बस्नका लागि २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
इच्छामना ५ तामिनका किसान विश्व नेपालले यस महोत्सवले इच्छाकामनाको सुन्तलालाई देशभर चिनाउनका साथै बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले पछिल्लो समय सुन्तलाको बोट मर्ने र कम फल्ने गरेको बताउँदै यसको समस्या समाधानका लागि सरकारले किसानलाई आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपा इच्छाकामनाका प्रतिनिधि सक्षम सिलवाल, नेपाली कम्युनिष्ट पार्टी इच्छाकामनाका प्रतिनिधि साबित्रा सिलवाल, नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारी, नेपाली काँग्रेस इच्छाकामनाका प्रतिनिधि बिष्णु कुँबर, वडाध्यक्षहरुको तर्फबाट इच्छाकामना गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष तेज बहादुर शेरचन लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायक जीवन शर्माले दर्शकहरुलाई गीत मार्फत मनोरञ्जन गराउनु भएको थियो ।
यस महोत्सवमा किसान सुन्तला खेती विशेषज्ञ र जनप्रतिनिधिहरुबिच अन्तरक्रिया सुन्तला खाने प्रतियोगिता लगायत सुन्तलाखेती गर्ने किसानहरु लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । पुस १५ गते सम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।