Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सम्पत्ति खोज्दै बागमती प्रदेश सरकार

सम्पत्ति खोज्दै बागमती प्रदेश सरकार

images
सम्पत्ति खोज्दै बागमती प्रदेश सरकार
images

मकवानपुर । बागमती प्रदेश सरकारले आफू र अन्तर्गत रहेका सार्वजनिक निकायको भौतिक सम्पत्तिको खोजी गर्ने भएको छ । प्रदेश सरकार र अन्तर्गत रहेका सार्वजनिक निकायको भौतिक सम्पत्ति खोजी गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा एक समिति रहने गरी प्रस्ताव गरिएको छ । 

प्रदेशका प्रमुख सचिवको अध्यक्षतामा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले प्रदेश सरकारको भौतिक सम्पत्तिको अभिलेख व्यवस्थापन एवं त्यसको उपभोग गर्ने सम्बन्धमा समिति गठन गर्न मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अधिकृत तीर्थराज घिमिरेले समितिमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रमुख सदस्य र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रशासन हेर्ने उपसचिव सदस्यसचिव रहने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो । 

प्रदेशका मन्त्रालयले प्रयोग गरेको सवारीसाधनको हकमा जुन मन्त्रालय वा निकायको पदाधिकारीले प्रयोग गरेको छ, सोही मन्त्रालय वा निकायको स्वामित्व कायम गर्ने कार्य एक महिनाभित्र सम्पन्न गरिने भएको छ । यस्तै प्रदेश सरकारका पुराना योजनालाई कार्यान्वयनमा प्राथमिकता दिने गरी कार्य अगाडि बढाइने भएको हो । 

मन्त्रालयलाई तोकिएको वार्षिक कार्यक्रम कार्यान्वयनको तालिका तयार गरी यथासम्भव शतप्रतिशत प्रगति हासिल हुने गरी कार्यान्वयन गर्ने र थोरै रकम व्यवस्थापन गर्दा शतप्रतिशत सम्पन्न हुने पुराना योजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने गराउने प्रदेशका सचिवहरूको बैठकले निर्णय गरेको हो ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति, नष्ट भएका सरकारी भवन, सवारीसाधन, कार्यालयका सामानलगायतको भौतिक सम्पत्तिको अभिलेख तयार गर्ने छ । त्यस्तै गरी अद्यावधिक, मर्मतसम्भार र खरिद व्यवस्थापन गरी कार्यालय व्यवस्थापन एवं सेवाप्रवाह प्रभावकारी, बजेट नपुग भएमा सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरी आवश्यक बजेटको प्रबन्ध गराउने र मन्त्रालयले सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । 

प्रदेशका मन्त्रालय र अन्तर्गतका निकायमा गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति वा आगलागी भई नष्ट भएका सवारीसाधनलगायत अन्य भौतिक सम्पत्तिको बिमा दाबी गर्ने, क्षतिपूर्ति प्राप्त गर्ने, लिलामी गर्नुपर्ने मालसामानको लिलामी प्रक्रिया र मिनाहा वा लगत कट्टा गर्नुपर्ने भए तत्काल प्रक्रिया सुरु गरी व्यवस्थापन गरिने भएको छ । 

कार्यालयमा प्राप्त हुन आएका गुनासो र उजुरीको अभिलेख, छानबिन र फस्र्योट कार्य प्राथमिकतामा राखी सम्पादन गरी सोको अभिलेख सम्बन्धित मन्त्रालय र मातहत निकायले अद्यावधिक गरी एकीकृत विवरण मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने व्यवस्था गरिने भएको छ । 

प्रदेशका मन्त्रालयले आफू र मातहतका कार्यालयमा प्रयोगमा ल्याएका सफ्टवेयरको डेभलपरको टिओआर, सोबमोजिमको सफ्टवेयरको कार्यसम्पादन तथा उपयोगिता, सोर्सकोडको अवस्था बुझ्ने छ । सुरक्षण परीक्षण नगरेको भए सोसमेत गर्ने र अद्यावधिक विवरण मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई यथाशीघ्र उपलब्ध गराउन प्रदेशका सचिवको बैठकले निर्णय गरेको छ ।

कार्यालयको बेरुजु वर्गीकरण गरी बेरुजु फस्र्योटलाई प्राथमिकता दिने, कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन हाजिरी, बिदा, काज, तालिमलाई व्यवस्थित एवं सेवा प्रवाहलाई असर नगर्ने गरी प्रबन्ध मिलाउने र कार्यालय समयमा कर्मचारी उपस्थित हुन नसकेमा सुपरीवेक्षकसँग अनुमति लिने र निजको सिफारिसमा मात्र काज र बिदा स्वीकृत गर्ने/गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।  

images
प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ०८:५२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology