काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंसिर २६ गते शुक्रवार कुनै पनि खेल हुने छैन । फाइनल खेल शनिवार हुने भएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुर मैदानमा दिउसो साढे ३ बजे सुरु हुनेछ। फाइनलमा उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी पहिलो पटक उपाधि नजिक पुगेको हो। अंक तालिकाको चौथो स्थानमा रहेर एलिमिनेटर खेलेको लुम्बिनीले काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी पनि ट्रफी हात पार्ने दाउमा छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ बिकेटले पराजित भएको सुदूरपश्चिम यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ ।