काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुँदैछ। सवा ११ बजे शुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्नेछन्।
‘प्लेअफ’ सम्भावना कायम राख्न दुवै टिमलाई जितको दबाब छ। प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ। चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स सातौँ स्थानमा छ।
यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ। तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ। अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ।
यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ। आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ।