Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते

मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते

एजेन्सी

२, मंसिर २०८२
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते

मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो ।

images

मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्दोलनकारी घाइते भएका छन् । २० जना आन्दोलनकारी पक्राउ परेका छन भने थप २० जनालाई प्रशासनिक मामिलामा कारबाहीका लागि बुझाइएको उनले बताए । उनका अनुसार घाइते मध्ये ४० जना प्रहरीको अस्पतालमा उपचार गरिएको छ ।

विरोधको प्रतीक स्वरूप ‘वान पिस’ को झण्डा

प्रदर्शनकारीहरूले जापानी मंगा वन पिस को ‘स्ट्र ह्याट’ खरानी टोपी लगाएको खोपडी अंकित झण्डा फहराएका छन् । कार्टून पात्र देखिने उक्त झण्डा प्रदर्शनसँग मेल नखाएजस्तो देखिए पनि, जेनजी पुस्ताका आन्दोलनकारीका लागि यसको गहिरो प्रतीकात्मक अर्थ छ ।

विश्वभरका युवापुस्ता–केन्द्रित आन्दोलनमा देखा पर्ने सांस्कृतिक प्रतीकहरूमध्ये वन पिस को जोली रोजर झण्डा हाल जेनजी आन्दोलनको साझा पहिचान बनेको छ । मेक्सिको सिटीमा राष्ट्रपति क्लाउडिया शाइनबौम बस्ने नेशनल प्यालेस वरिपरि लगाइएका बार हटाउने क्रममा हुड लगाएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु–ग्यास प्रयोग गरेको थियो ।

प्रदर्शनमा प्रयोग गरिएको झण्डा १९९७ मा प्रकाशित जापानी मंगा वन पिस का सिर्जना कर्ता एइइचिरो ओडाले बनाएको कथाबाट प्रेरित हो । मंगामा मुख्य पात्र मन्की डी। लुफी र उनको ‘स्ट्र ह्याट क्रू’ स्वतन्त्रता, सपनाको खोजी र दमनकारी ‘वल्र्ड गभर्नमेन्ट’ विरुद्ध लड्ने कथामा केन्द्रित छन् ।

वन पिसका प्रशंसकहरूका अनुसार यो झण्डा सपनाको खोजी, अन्यायविरुद्धको विद्रोह र स्वतन्त्रताको प्रतीक हो । यही कारणले यो झण्डा एसियाका विभिन्न विरोध प्रदर्शनहरू—इन्डोनेसिया, फिलिपिन्स, नेपाल—देखि फ्रान्सको राजधानी पेरिससम्म युवापुस्ताको प्रतिरोधको चिन्हका रूपमा फैलिएको छ ।

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - १०:४८:३३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology