इच्छाकामना । चितवनको पर्यटकीय स्थल ऐतिहासिक किल्ला उपरदाङगढीमा नि:शुल्क इन्टरनेट सेवा सुचारु भएको छ । टेकमाइण्ड नेटवर्कले बिहिबारदेखि निःशुल्क (फ्रि) वाइफाई सेवा उपलब्ध गराएको हो । विहीबार गढीमा एक कार्यक्रमकाबिच इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बमबहादुर थापामगरले (फ्रि) वाइफाई सेवाको उद्घाटन गर्नुभयो ।
गढी अवलोकनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी फ्रि वाइफाई सेवा उपलब्ध गराएको सो कम्पनीका पूर्वी चितवन प्रमुख यमन भूषालले बताउनुभयो । इन्टरनेट मार्फत स्थानीय पर्यटन, शिक्षा र सूचना पहुँचमा योगदान गर्ने लक्ष्य रहेको भन्दै भूषालले उपरदाङगढीमा आगन्तुक,पर्यटक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूले निःशुल्क इन्टरनेट सेवा उपभोग गर्न पाउने बताउनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल उपरदाङगढीमा निःशुल्क वाइफाई सेवा सुरु गरेको भूषालले बताउनुभयो ।
वडाध्यक्ष बम बहादुर रानामगरले लामो इतिहास बोकेको उपरदाङगढी प्रचारप्रसारको अभावका कारण ओझेलमा रहेको भन्दै (फ्रि) वाइफाई सेवाले गढीको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मोटरबाटोको सहजतासगैँ पछिल्लो केही बर्षयता भने पर्यटकहरुको आगमनमा वृद्धि हुदैँ गएको उहाँको भनाई छ ।
यहाँ पर्यटकलाई आकर्षित गर्न गढीको संरचनालाई असर नपुग्ने गरि विभिन्न संचरनाहरुसमेत निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताउनुभयो । गत बर्ष मात्र कोतघर निर्मण गरिएको उहाँले बताउनुभयो ।
सन् १९६० सम्म उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गर्नुभएको थियो । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।