आँबुखैरेनी (तनहुँ), ८ कात्तिक — तनहुँ जिल्लाको आँबुखैरेनी हाटबजारस्थित पवित्र स्थलमा आजदेखि छिम्केश्वरी–बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुदैछ।
महाभारत पर्वत श्रृङ्खलाको २१३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी–बुढीदेवी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि आयोजना गरिएको महायज्ञ आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
महायज्ञमा वाचन प्रविण पण्डित श्री दिनबन्धु पोखरेलको मुखारविन्दुबाट श्रीमद्भागवत वाचन तथा ज्ञानगङ्गा प्रवाह हुनेछ।
उक्त महायज्ञ, छिम्केश्वरी – बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति, छिम्केश्वरी पर्यटन विकास समिति, मन्दिर संरक्षण समिति र आँबुखैरेनी गाउँपालिकाको संरक्षकत्वमा आयोजना गरिएको हो।
महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङका अनुसार, महायज्ञबाट करिब १० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ भने ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
उनका अनुसार, यस महायज्ञले धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।