काठमाडाैं । ओमानमा जारी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको अन्तिम चरणमा नेपाल आज सामाओसँग भिड्दै छ। यो खेल नेपालका लागि फाइनल जस्तै बनेको छ।
पहिले नै आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसिसी टी–२० विश्वकपको टिकट सुनिश्चित गरिसकेको नेपाल अहिले छनोटको उपाधि उचाल्ने नजिक पुगेको छ। बुधबार राति बलियो टिम ओमानलाई ३८ रनले पराजित गरेपछि नेपालको उपाधि जित्ने सम्भावना झन् प्रबल बनेको हो।
सुपर सिक्समा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ। यूएईले सबै खेल सकिसकेको छ भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ।
नेपालले आज सामाओलाई हराउन सके अपराजित रहँदै १० अंकसहित छनोटको उपाधि आफ्नो बनाउनेछ। यसअघि यूएईविरुद्धको रोमाञ्चक खेलमा १ रनको जित निकाल्दै नेपालले ऐतिहासिक विश्वकप प्रवेश सुनिश्चित गरेको थियो।
कप्तान रोहित पौडेलका अनुसार, “हाम्रो पहिलो लक्ष्य विश्वकप पुग्नु थियो, अब अर्को लक्ष्य उपाधि जित्नु हो।” तेस्रो पटक विश्वकपमा पुगेको नेपालले यसअघि कहिल्यै छनोट प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
सुपर सिक्सबाट नेपाल, ओमान र यूएईले विश्वकपमा स्थान सुनिश्चित गरिसकेका छन्, जबकि जापान, कतार र सामाओ प्रतियोगिताबाट बाहिरिएका छन्।
उपाधिका लागि निर्णायक खेल आज दिउँसो ४:१५ बजे ओमानको मैदानमा हुनेछ। नेपालले जित निकाले उपाधि आफ्नो पोल्टामा पार्नेछ, तर यदि नेपाल पराजित भयो र ओमानले जापानलाई हरायो भने उपाधि रनरेटका आधारमा टुंगिनेछ। ओमान जापानसँग पराजित भएमा भने नेपालले खेलअघि नै उपाधि पक्का गर्नेछ।