Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बर्सातको प्रभाव, जैविक विविधतामा कम नोक्सानी

बर्सातको प्रभाव, जैविक विविधतामा कम नोक्सानी

पत्रपत्रिका

२३, आश्विन २०८२
बर्सातको प्रभाव, जैविक विविधतामा कम नोक्सानी
images

शालिग्राम नेपाल, चितवन। यस वर्षको बर्सातमा चितवन राष्ट्रिय निकुञ्जभित्रको जैविक विविधतामा बाढीपहिरोले विगतका वर्षमा पार्ने गरेकोभन्दा कम क्षति भएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको वर्षाको प्रक्षेपण र त्यसले पार्ने असरको कुराले निकुञ्जभित्र वन्यजन्तुको वासस्थान र अन्य संरचनामा क्षति हुने अनुमान गरिएको थियो । अनुमानभन्दा कम क्षति भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताउनुभयो ।  

images
images

प्रमुख पन्तले भन्नुभयो, “मौसमको अवस्थालाई हेर्दा वन्यजन्तुको वासस्थानदेखि उनीहरूको सुरक्षा र भौतिक संरचनाको विषयमा समेत प्रभाव पार्छ भन्ने लागेको थियो तर त्यस्तो भएन ।” निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने दुई वटा पोस्टमा भारी वर्षाले असर पारेको भए पनि निकुञ्ज कार्यालयले सुरक्षित स्थानमा सारेको छ । उहाँका अनुसार भुताहा र मधुवनको सुरक्षार्थ पोस्टमा बस्न सक्ने अवस्था नभएपछि अन्यत्र सारिएको हो । भत्केका स्थान मर्मत गरी पुनस्र्थापना गर्ने कार्य छिटो गर्नका लागि काम सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो । 

निकुञ्जभित्रका ५७ वटा पोस्ट रहेकोमा अहिले दुई वटा पोस्ट भत्केपछि त्यसलाई अन्यत्र गाभिएको हो । निकुञ्जको पूर्वी भेगको तुलनामा पश्चिमी क्षेत्रमा बढी क्षति भएको छ । प्रमुख संरक्षण अधिकृत पन्तका अनुसार पश्चिमको टाइगर टप्सभन्दा पश्चिम जङ्गल सफारीका लागि निर्माण गरिएको बाटो भत्काएको छ भने रुख लडेर बाटो अवरुद्ध भएको छ । त्यसै गरी निकुञ्जको गस्ती टोलीले निगरानी गर्ने सडकलाई पनि बर्सातले असर पारेको उहाँले बताउनुभयो । 

निकुञ्जको मुख्य कार्यालय रहेको कसरादेखि पूर्वतर्फको जङ्गल सफारीलाई सञ्चालनमा ल्याइएको छ । पश्चिमी क्षेत्रमा असर पारेकाले सञ्चालनका लागि केही समय लाग्ने उहाँले बताउनुभयो ।

बाढीले केही असर पारेपछि चाडबाडको अवस्थालाई ध्यान दिएर निकुञ्जको सुरक्षार्थ विशेष निगरानी बढाइएको पनि उहाँले बताउनुभयो ।  उहाँका अनुसार वन्यजन्तु संरक्षणका लागि बनाइएका समुदायस्तरका क्लबमा सचेतना जगाइएको छ । आधुनिक क्यामराको प्रयोग गरी निगरानी गरिएको छ ।    

९५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा हरेक वर्ष दसैँतिहारमा चोरीसिकारीको जोखिम बढ्ने भएकाले सुरक्षामा उच्च सतर्कता बढाउने गरिएको छ । चितवन, नवलपरासी, पर्सामा फैलिएको निकुञ्ज भारतको सिमानासम्म जोडिएको छ । विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडाको मुख्य बासस्थान चितवन निकुञ्ज भएकाले यहाँको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको पन्तले बताउनुभयो ।  

बर्सातमा निकुञ्ज भएर बग्ने राप्ती, सीमावर्ती क्षेत्र भएर बग्ने नारायणी नदीले यहाँको जैविक विविधतामा असर पार्ने गर्छ । अघिल्ला वर्षमा नारायणी नदीमा आएको बाढीले निकुञ्जका गैँडा बगाएर भारत पु¥याएको थियो । पछि भारतीय पक्षको सहयोगमा गैँडा उद्धार गरेर नेपाल ल्याइएको थियो । यस वर्षको बाढीले वन्यजन्तु बगाएर लगेको सूचना आइसकेको छैन । बाढीको प्रभावका विषयमा हामीले अहिले पनि अध्ययन गरिराखेको प्रमुख पन्तले जानकारी दिनुभयो । 

मुख्य गरी एकसिङ्गे गैँडा, बाघ, हात्ती, गोहीलगायतका जनावरको वासस्थान चितवन निकुञ्ज हो । यहाँ नेपालमा पाइने लोपोन्मुख जनावरमध्ये सबैभन्दा धेरै यही निकुञ्जमा पाइन्छन् । निकुञ्जको पश्चिमी क्षेत्र नवलपरासीबाट दक्षिण पश्चिम चितवनतर्फ पर्ने स्थानमा पाटेबाघ र गैँडाको मुख्य वासस्थान रहेको छ । केही वर्षअगाडि मात्र निकुञ्जको पूर्वी क्षेत्र सौराहा, मकवानपुरको दक्षिण सुनुचारी, कुमरोजलगायतका स्थानमा बाक्लो रूपमा गैँडा र बाघ पाइँदै आएका छन् । 

पूर्वी क्षेत्रमा कम गैँडा भएपछि आन्तरिक रूपमा स्थानान्तरणको कार्यसमेत गत वर्ष गरिएको छ । अहिले पश्चिम क्षेत्रमा रहेको वन्यजन्तुको वासस्थान बाढीले धेरै प्रभाव पार्ने जोखिम रहेको छ ।  गोर्खापत्र दैनिकबाट

images
प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ०८:४५:४३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology