कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पुर्याउने गरेको छ ।
पुनः साँझ नपर्दै हात्तीको बथान खेतमा छिर्ने गरेका छन् । यो क्रम बाली नभित्र्याउँदासम्म चलिरहन्छ । जसबाट मानवीय क्षति, भौतिक क्षति हुनसक्ने सम्भावना उत्तिकै प्रबल बन्दै गएको हात्ती प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
पहिले नियमित रूपमा हात्ती प्रवेश गर्ने वन क्षेत्रमा माहुरीका घार राखेपछि हात्ती त्यस बाटो प्रयोग गर्न छाडेको उनले बताए । “दशकअघि गरिएको यो प्रयोग सफल भएको थियो”, उनले भने, “स्थानीय समुदायले यसलाई निरन्तरता दिएनन्, पुनः हात्तीको समस्या झेल्न बाध्य छन् ।”
“माहुरीपालनले हात्ती भगाउन मात्र होइन, स्थानीय बासिन्दाले माहुरीको मह बेचेर आयआर्जनमा ठुलो सहयोग पुग्छ”, चौधरीले भने, “त्यसैले यो उपायलाई विस्तार गर्नुपर्छ ।” उनका अनुसार, नेपाल–भारत वन्यजन्तुसम्बन्धी भारतीय समुदायबिच भएको छलफलमा अर्को उपायका रूपमा खुर्सानी, मोबिल र तमाखुको मिश्रण गरी डोरीलाई तावरका रूपमा प्रयोग गर्ने सुझाव आएको थियो ।
विसं २०७४ तिर भारतीय समुदायसँग छलफलपछि सो उपायलाई कञ्चनपुरको पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा परीक्षण गरिएको थियो ।
“जुटको डोरीमा खुर्सानी, मोबिल र तमाखुको मिश्रण दल्यौँ, त्यसलाई तारबारझै तीन तहमा हात्ती हिँड्ने बाटोमा तान्यौँ”, चौधरीले सम्झिए, “त्यसपछि हात्तीले त्यो बाटो प्रयोग गर्नै छाड्यो ।” हालसम्म पनि सो बाटो हुँदै हात्ती नआएको र हात्तीले दोदा नदीतर्फको वैकल्पिक बाटो प्रयोग गर्न थालेको उनले बताए । मिश्रणको गन्ध टाढासम्म पुग्ने र डोरीमा हात्तीले शरीर छुँदा पोल्ने भएकाले हात्ती नजिक आउनै डराउने गरेको पाइएको उनले उल्लेख गरे ।
तेस्रो विकल्पका रूपमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्न सकिन्छ । मिन्था, क्यामामाइललगायतका जडीबुटी खेतीले हात्तीलाई टाढा राख्ने मात्र होइन, किसानलाई राम्रो आम्दानी पनि दिलाउन सक्छ । तर, यसको लागि बजारको स्थायी व्यवस्थापन आवश्यक रहेको छ ।
“विगतमा दातृ निकायको सहयोगमा हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई जडीबुटी खेतीसँगै प्रशोधन गर्ने मेसिनसम्म जडान गरेर दिएका थिए”, सुनदेवी उपभोक्ता समितिका हवलदार चौधरीले भने, “बजार नपाएपछि किसानले खेती गर्न नै छाडेका छन्, मेसिन खिया लागेर थन्किएका छन् ।”
हात्तीको समस्या मध्यवर्ती क्षेत्रका किसानका लागि चुनौती बनेको छ । तर, माहुरी पालन, गन्धयुक्त डोरीको प्रयोग र जडीबुटी खेतीजस्ता विकल्पलाई प्रभावकारी रूपमा लागू गर्न सकिए हात्तीलाई सहजै खेतबारीबाट टाढा राख्न सकिने देखिएको छ । यसले किसानको बाली पनि जोगाउनेछ, । उनीहरूको आयआर्जन बढाउनेछ र मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न ठुलो सहयोग पुग्ने विज्ञहरूको भनाइ छ ।