Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

निर्वाचन आयोगद्वारा चुनावको तयारी सुरु

निर्वाचन आयोगद्वारा चुनावको तयारी सुरु

images

इच्छाकामना न्युज

२, आश्विन २०८२
निर्वाचन आयोगद्वारा चुनावको तयारी सुरु
images

काठमाडौं । ‘जेन-जी’ पुस्ताको आह्वानमा भदौ २३–२४ गते काठमाडौंलगायत देशका विभिन्न स्थानमा भएको आन्दोलनपछि देशमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ । पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार बनेसँगै प्रतिनिधिसभा विघटन भएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ । ‘जेन-जी’ आन्दोलनले बढारिएका राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि चुनावका लागि भने तयार भएका छन् ।

अन्तरिम सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि आगामी फागुन २१ गतेको मिति तोकेसँगै निर्वाचन आयोगले चुनावको तयारी सुरु गरेको छ । चुनावको मिति घोषणा गर्न सरकारले गरेको सिफारिशलाई राष्ट्रपति पौडेलले अनुमोदन गरिसकेकाले वर्तमान अन्तरिम सरकारको प्रमुख लक्ष्य तोकिएको मितिमा चुनाव गराउनु नै हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा (३) मा निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रावधान छ । उक्त दफामा भनिएको छ, ‘संघीय कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नेपाल सरकारले निर्वाचनको मिति तोक्नेछ । तर, त्यस्तो निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनुपर्ने छ ।’

तर, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेलगत्तै निर्वाचन आयोगसँग कुनै परामर्श नै नगरी एकैसाथ प्रतिनिधिसभा विघटन तथा निर्वाचनको मिति तोकिएको थियो । विषम परिस्थितिमा सरकारले निर्वाचनको मिति घोषणा गरेको हुनाले आयोगसँग परामर्श नगरेको निर्वाचन आयोगका पदाधिकारीहरूको जिकिर छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले चुनावको मिति तोकेसँगै आयोगले पनि काम थालिसकेको जानकारी दिँदै भन्नुभयो, ‘अहिले हाम्रो तयारी प्रारम्भिक चरणमै छ । अब मौजुदा निर्वाचन व्यवस्थापनका सामग्रीहरूको संकलन र आवश्यक के कति हो, त्यो छुट्याउने काम गरिरहेका छौँ । ऐन-नियमका अप्ठ्यारो, बाधा अड्चन फुकाउने कामसमेत गर्ने तयारी सुरु गरिसकेका छौँ ।’

तर, फागुन २१ मा तोकिएको चुनावमा केही कानुनी जटिलतासमेत देखिएका छन् । मतदाता नामावली संकलनको काम अहिले बन्द छ । मतदाता नामावली ऐन, २०७३ अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्ने काम गर्न मिल्दैन । उक्त ऐनको दफा (४) उपदफा (२) मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन ।’ भन्ने उल्लेख छ । फागुन २१ गते निर्वाचन हुने भनेर सरकारले मिति घोषणा गरिसकेका कारण ऐनको उक्त प्रावधानबमोजिम आयोगले मतदाता नामावली संकलनसहित अद्यावधिकको काम गर्न पाउने छैन । अर्थात् निर्वाचनको मिति घोषणा भएपछि दर्ता भएका मतदाताले त्यो चुनावमा मतदान गर्न पाउँदैनन् । अहिले ‘जेन-जी’ विद्रोहमा सरिक भएकाहरूको पनि मतदाता नामावलीमा नाम नहुन सक्छ । उनीहरू मताधिकारबाट वञ्चित हुने भएकाले अहिलेको निर्वाचनसम्बन्धी कानुनको उक्त व्यवस्था संशोधन गरेर मतदाता नामावलीमा नाम दर्ता खोल्न सकिन्छ ।

निर्वाचन हुनुभन्दा ६० दिन, ९० दिन अगाडि नाम दर्ता गरेकाले भोट हाल्न पाउने व्यवस्था गर्न सकिन्छ । निर्वाचन आयोगले मस्यौदा गरेको नयाँ निर्वाचन कानुनमा यो प्रस्ताव थियो । त्यस्तै, मतदान हुनुभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका सबै व्यक्तिले मतदान गर्नसक्ने कानुनी व्यवस्था गर्नुपर्छ । आकस्मिक रूपमा निर्वाचनको मिति तोकिएकाले ऐनको प्रावधानलाई संशोधन गर्न सरकारले अध्यादेश ल्याउने तयारी गरेको बताइएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, ‘सरकारसँग समन्वय गरेर अध्यादेशमार्फत उक्त ऐनको बाधा फुकाउने काम भइरहेको छ । त्यसैगरी, कुन-कुन ऐन, नियममा के कस्तो संशोधन गर्नुपर्ने हो, त्यसका लागि विज्ञ टोलीबाट अध्ययन भइरहेको छ । विज्ञ टोलीले दिएको सुझावका आधारमा अध्यादेशमार्फत ऐनहरू संशोधन गरिनेछ ।’ अब फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा १६५ प्रत्यक्ष सिट र समानुपातिक तर्फ ११० सिटमा नयाँ चुनाव हुनेछ । सरकारले तोकेको मितिअनुसार चुनाव आउन करिब ६ महिना अर्थात् १७० दिन मात्रै बाँकी छ ।

निष्पक्षतामा आशंका
प्रमुख दलहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण भए चुनावमा जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि आन्तरिक छलफलमा रहेका दलहरूले निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरण भए जनादेशका लागि जान तयार रहेको बताएका छन् । उनीहरूले घोषित समयमा निर्वाचन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर, यस विषयमा पार्टीबाट आधिकारिक निर्णय गर्न भने बाँकी छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर पछिल्लो समय कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीलगायत आठ दल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसद् विघटनलाई संविधानविपरीत भन्दै आएका छन् । कांग्रेसलगायत दलहरू विगतमा आफूबाट भएका गल्तीप्रति माफी माग्दै जनतामा जानुको विकल्प नभएको नेताहरूको जिकिर छ ।

चुनावी तयारीमा लाग्न माओवादीको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिशमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो । चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष प्रचण्डले सातै प्रदेशका इञ्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिँदै भन्नुभएको छ, ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन । अब हामी चुनावमा केन्द्रित हुन संगठन परिचालन गर्नुहोला ।’

निष्पक्ष निर्वाचन र संविधानको रक्षा मुख्य जिम्मेवारी : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको अवस्थामा निष्पक्ष निर्वाचन र संविधानको रक्षा नै सबैको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार कहीँ कतै अलमलिनु नहुने उहाँको भनाइ छ । सरकारले भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘निर्वाचनको मिति घोषणा भएको छ । एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔँ, यसको निमित्त निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौँ । भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ ।’ संविधान र लोकतन्त्र रक्षाका लागि चुनाव अपरिहार्य भए पनि अन्तरिम सरकारले निष्पक्ष चुनावको वातावरण बनाउनेमा आशंका गर्दै नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘चुनाव हुने परिस्थिति भयो भने दलहरूले भाग लिन्छन् । चुनाव हुने स्थितिमा मुलुक जान्छ कि जाँदैन भन्नेमा आशंका छ । मतदाता निर्भय भएनन् भने चुनावको अर्थ रहँदैन ।’

निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : डा.भट्टराई
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने उल्लेख गर्दै डा.भट्टराईले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा आशंका रहेको उहाँको टिप्पणी छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहनुभएका भट्टराईले भन्नुभयो, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ । त्यसको निम्ति दलहरू चाहिन्छन् । जेन-जी भन्ने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनःसंरचना सम्भव छ ।’
◾ थप सामग्री : https://ehimalayatimes.com/2025/09/378794/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news

images
प्रकाशित मिति :आश्विन २, २०८२ बिहिवार - ०७:४३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology