Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अलबिदा प्रेम विनोद नन्दन ! चितवनको साहित्यको एउटा आधारस्तम्भ ढल्यो

अलबिदा प्रेम विनोद नन्दन ! चितवनको साहित्यको एउटा आधारस्तम्भ ढल्यो

images

इच्छाकामना न्युज

३, भाद्र २०८२
अलबिदा प्रेम विनोद नन्दन ! चितवनको साहित्यको एउटा आधारस्तम्भ ढल्यो
images

मधुसूदन दवाडी / चितवन । नेपाली गीतसंगीत र साहित्यका अग्रज साहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनको शोकले चितवनको साहित्य क्षेत्र स्तब्ध भएको छ । उनलाई चितवनका साहित्यकारहरुले सांस्कृतिक बिम्व मान्ने गरेका थिए ।

नारायणी कलामन्दिरको संस्थापक समेत रहेका नन्दनको शव नारायणी कला मन्दिरमा केही समय राखेर चितवनका संगीतप्रेमीहरुले संगीतको माध्यमबाट श्रद्धाञ्जली दिए । अन्तर मनदेखि धाराबाहिक गीत, कविता र मुक्तक लेख्ने प्रेमविनोद नन्दन कुनै राजनीतिक दर्शन र बाद भन्दा पनि सधै कला र साहित्यको साधनामा लागिरहे । उनी चितवनमात्र नभएर देशकै सबैले मानेको, मूर्धन्य स्रष्टा हुन् ।

कनीकुथी कविता लेख्ने, राजनीतिक बादविवादमा अल्झने र सधै फाइदा कताबाट हुन्छ त्यतै कुद्ने साहित्यकारका अगाडि उनको निस्वार्थ त्याग र समर्पण प्रेरणाको स्रोत बन्ने गर्छ । अब्बल सिर्जना र रचना गर्ने स्रष्टालाई कुनै राजनीतिक दलको पछि लाग्नु नै पर्दैन । ऊ सारा आमनागरिकको साहित्यकार बन्छ ।

त्यस्तै, नन्दन सधै सारा चितवनबासीको ह्दयको ढुकढुकी बनेर अस्ताए । उनको साहित्य र संगीत सिर्जना सधै हामीहरुको कानमा गुन्जिरहने छ । कोरोनापछि खासै सार्वजनिक कार्यक्रममा नदेखिए पनि कोरोना अघि उनको दिनचर्या र छाया सबैको मनमस्तिष्कमा अमिट छाप बनेर रहेको छ । नेपालीको पहिचान पाल्पाली ढाकाको टोपी,पावरवाला चश्मा,सामान्य झोला र साधारण ड्रेस अप,साधारण जीवनशैली उनको पहिचान थियो । चितवनको हरेक गीत,संगीत,गजल र साहित्यको कार्यक्रममा बिशिष्ट अतिथि,प्रमुख अतिथि बन्नु उनको दिनचर्यानै थियो ।

कार्यक्रमको लागि उनलाई दिनहुँ निमन्त्रणा र फोन आइरहन्थ्यो । हतार हतार पुल्चोक नजिकैको घरबाट उनी हरेकदिन भरतपुरको विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका हुन्थे । उमेरले आठ दशक पार गरिसक्दा पनि उनको गीत,संगीत र साहित्यमा सक्रियता देख्दा जो कोहीलाई उनको जीवन प्रेरणादायक लाग्थ्यो । उनको अनुपस्थितिमा चितवनका प्रत्येक कार्यक्रम खल्लो जस्तो हुने गर्दथ्यो । बाद, प्रतिवाद, फोहोरी राजनीतिक दर्शनमा चितवनको साहित्य, संगीत कहिलेकाही बिभक्त हुन खोजेमा, भड्किन खोजेमा उनको त्यही लामो सृजनात्मक अनुभबले सबैलाई एकसुत्रमा बाध्ने गर्दथ्यो ।

उनी चितवनको हरेक समूह र सर्जकले सर्वाधिक रुचाइएका र मानिएका ब्यक्तित्व हुन् । कोरोना अघिसम्म चितवनमा सम्पन्न भएका झण्डै शतप्रतिशत कार्यक्रममा उनी कार्यक्रमको विशिष्ट अतिथि तथा प्रमुख अतिथि बन्ने गर्दथे । सर्वाधिक जनअनुमोदित यो पात्र नेपालको लागि कुनै हल्का र चानचुने पात्र थिएनन् । स्वर्गीय प्रेम विनोद नन्दनको चर्चा,नाम र ब्यक्तित्व बिना चितवनको साहित्य,संगीतको इतिहासनै अपुरो, अधुरो हुन जान्छ । आज भन्दा ९० वर्ष पहिले विसं १९९२ सालमा तनहुँको बन्दीपुरको कृषक परिवारमा जन्मिएका नन्दनले स्वअध्ययनबाटै आफ्नो लेखकीय क्षमताको विकास गरे । विशेष त नेपाली गीत र कविता लेखनमा कलम चलाएका उनले आधादर्जन नेपाली चलचित्रका गीतमा रचनाकारको भूमिका निभाए ।

‘मोहनी’, ‘कान्छी’, ‘सन्तान’ र ‘कर्जा’ जस्ता चलचित्रहरुको गीत संगीत उनीद्वारा रचिएका प्रमुख रचनाहरु हुन् जुन गीतहरु सधै हरेक नेपालीहरुको जिब्रो जिब्रोमा सधै अजर अम्बर भएर रहिरहने छन् । यसको अलावा उनले झटारो, अञ्जलि, सपनीबाट ब्युझेर, भीडमा एक्लै एक्लै, ऐनाभित्रको आकाश जस्ता आधादर्जन गीत,कविता तथा गजल संग्रह पनि प्रकाशित गरिसकेका छन् । राष्ट्रियस्तरको छिन्नलता गीत पुरस्कार पनि प्राप्त गरिसकेका सर्जक स्वर्गीय नन्दनको सम्पूर्ण जीवन, गीत, संगीत र सृजना समग्र राष्ट्रको सम्पत्तिनै हो ।

प्रेम बिनोद नन्दन आफैमा एउटा चितवनको कला र साहित्यको पुस्तकालय जस्तै थिए । यदि कुनै पत्रकारले यस विषयमा खोज,अनुसन्धानलाई अगाडि बढाउनु प¥यो भने उनका अनुभव र भोगाइहरु आफैमा पर्याप्त हुन्थे । उनको जीवनको हर पक्षबारे जान्ने आम समुदायको अभिरुचि पनि देखिन्थ्यो । नन्दनको सिर्जना र उनको दैनिक दिनचर्याबारे सबैलाई चासो हुने गर्दथ्यो । मृत्युपछि उनको सिर्जना र तस्बिरले फेसबुकका पानाहरु रंगिएका छन् ।

सबै जसो अनलाइन पोर्टलले उनको मृत्युको खबरलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । नेपाली साहित्य र संगीतको ‘गोलसिमल’ लाई हार्दिक श्रद्धासुमन । गीत संगीत र साहित्यको आकाशमा उनी सधै चम्किरहने छन् ।

images
प्रकाशित मिति :भाद्र ३, २०८२ मंगलवार - ००:१२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology