आँबुखैरेनी, १७ फागुन । स्थापनाको १४ वर्षपछि तनहुँको आँबुखैरेनी बजारमा सञ्चालित मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा दिन थालेको छ । वि. सं. २०६३ साल फागुन २५ गते स्थापित संस्थाले स्थापनाको १४ वर्षपछि यहि पौष १९ गतेदेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।
संस्थाले गोरखा रोड आँबुखैरेनी बजार स्थित डाडाँटोलमा करिब साढे ३ करोडमा ३ तले भवन खरिद गरि सेवा दिन थालेको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । ‘विगत २ महिनादेखि हामीले आफ्नै नयाँ भवनबाट सेवा दिइरहेका छौं’ –उहाँले भन्नुभयो । मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था आँबुखैरेनीमा सञ्चालित पुरानो सहकारीहरु मध्य एक हो।
यो संस्थाको आँबुखैरेनीमा सदस्यहरु माझ छुट्टै पहिचान र विश्वास रहेको छ । सहकारीको पुस मसान्तसम्मको वित्तिय विवरण अनुसार पूँजी ४ करोड ३९ लाख ५२ हजार ४ सय रुपैयाँ छ । संस्थाले सो अवधिसम्ममा ३८ करोड ५९ लाख ९८ हजार १ सय ७ रुपैयाँ निक्षेप संकलन गरि ३४ करोड २२ लाख ६६ हजार २ सय ८५ रुपैयाँ सदस्यहरु माझ कर्जा लगानी गरेको छ । यस्तै २ हजार ५ सय ५० जना शेयर सदस्य रहेको सहकारीको जगेडा कोषमा मात्रै ३ करोड ८४ लाख रुपैयाँ रहेको देखिन्छ ।