Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

इच्छाकामना न्युज

२९, जेठ २०८२
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’
images

भरतपुर (चितवन), जेठ २९ गते । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् ।

images
images

यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।

वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताउनुभयो । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छभने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । “बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो”, परियारले भन्नुभयो ।

माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०÷२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताउनुभयो ।

भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ । गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । “अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्”, वडाध्यक्ष अधिकारीले भन्नुभयो, “सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठधाम क्षेत्रका नै पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।” वैकुण्ठधाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उहाँको भनाइ छ ।

साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताउनुभयो । वैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पु¥याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताउनुभयो । “झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नसक्छ ।

त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौं”, उहाँले भन्नुभयो । माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताउनुभयो । रासस

images
प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - ०९:५७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology