इच्छाकामना, २६ जेष्ठ । इच्छाकामना गाउँपालिकाको आयोजनामा चिऊरी, चमेरो तथा चेपाङ्ग समुदायसँग सम्बन्धित संरक्षण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम गाउँपालिका–२ को छापडाँडा र भोटे गाउँमा आयोजित गरिएको हो। कार्यक्रम गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका उपाध्यक्ष माया सिलवाल विशेष अतिथिको रूपमा उपस्थित थिइन्।
वडा नं. २ का अध्यक्ष पञ्च बहादुरले समेत कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रमका अवसरमा चेपाङ्ग समुदायसँग गहिरो सम्बन्ध रहेको चिऊरी र चमेरोको संरक्षण, यसबाट हुन सक्ने आर्थिक आम्दानी र सामाजिक फाइदाबारे सहभागीहरुलाई विशेषज्ञ तथा अतिथिहरूले विस्तृत जानकारी दिएका थिए।
गाउँपालिकाले जनचेतना कार्यक्रम अन्तर्गत हालसम्म वडा नं. १ र २ मा कार्यक्रम सम्पन्न गरिसकेको छ भने वडा नं. ६ मा कार्यक्रम बाँकी रहेको जानकारी गराइएको छ।
गाउँपालिकाका अनुसार यस्तो कार्यक्रमबाट स्थानीय जनताको सीधा सरोकार भएका परम्परागत वन स्रोतहरूको संरक्षण, व्यवस्थापन तथा उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।