Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

images

इच्छाकामना न्युज

११, जेठ २०८२
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
images

चितवन। चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।

सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार बिघा जमिनको जलासयमा माछा छन् ।

उहाँले वार्षिक रु एक करोड ५० लाखको माछा बिक्री गर्नुहुन्छ । खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताउनुभयो । “वार्षिक रु ६० लाख जति दानामा खर्च हुन्छ, विद्युत् लगायतका अन्य क्षेत्रमा खर्च हुन्छ”, उहाँले भन्नुभयो, “रु वार्षिक ७० लाख त कम्तीमा बचत हुन्छ ।” उहाँको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ । यतिखेर १० टन माछा बजार लैजाने तयारी छ ।

अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिनुभएको छ । उहाँले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लैजाने गरिन्छ । माछापालनले अर्यालको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्याएको छ । उहाँले आफ्नो आम्दानीबाट थप जमिन किनेर, घर बनाउनुभएको छ भने गाडी किन्ने योजनामा हुनुहुन्छ ।

माछापालन व्यवसायबाट नै अर्यालले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाइरहनुभएको छ । उहाँले आफ्नो फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ । “पोल्ट्री क्षेत्रमा हात हालेको छु । त्यसबाट राम्रो आम्दानी हुन सकेन”, अर्यालले भन्नुभयो, “यतिबेला कागती खेतीमा पनि लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ ।” श्रीमान्–श्रीमती नै माछापालनमा खटिनुहुन्छ ।

उहाँले माछापालनमा रुची राख्ने अन्य कृषकलाई प्रशिक्षण र सल्लाह प्रदान गर्दै आउनुभएको छ । ४५ वर्षीय अर्याल माछापालनमा त्यतिकै लाग्नुभएको होइन । पैसा कमाउन सन् २००५ मा मलेसिया पुग्नुभएका उहाँ २४ महिना बस्नुभयो । त्यतिखेर नेपालमै केही गर्ने सोचका साथ राम्रै पैसा कमाएर स्वदेश फर्किनुभएका अर्याल यहाँ भने जस्तो नभएपछि फेरि सन् २००८ मा फेरि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जानुभयो । दुई वर्ष दुबई बसेर फर्किनुभएका अर्याल परम्परागत खेतीपाती मै लाग्नुभएको थियो । पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देख्नुभयो ।

यसबाट फाइदा हुने पाएपछि माछापालन गर्न थाल्नुभएको हो । माछापालन गर्दा सुरुवाती दिनमा धेरै दुःख पाएको उहाँसँग अनुभव छ । “एक कठ्ठामा माछा कति राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो”, उहाँले भन्नुभयो, “सुरुमा व्यापारीले ठगे । दुई तीन वर्ष घाटा नै भयो ।” पछि माछापालनसम्बन्धी बुझ्दै गएपछि सहज भएको उहाँको भनाइ छ । सुरुआती दिनमा अर्यालले बङ्गलादेशबाट माछाका भुरा ल्याएर माछापालन गर्न थाल्नुभएको थियो । त्यतिखेर भारतिय बाटो हुँदै लुकाइछिपाइ गरेर भुरा ल्याउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । अहिले भने चितवनमै सरकारीस्तरबाट माछाका भुरा उत्पादन हुँदा माछापालन गर्न सहज भएको उहाँले बताउनुभयो । अर्याल पछिल्लो अधिकांश किसानका लागि प्रेणाका स्रोत बनिरहनुभएको छ ।

माछापोखरीमा आर्यालले रु दुई करोड लगानी गर्नुभएको छ । सात पोखरीमा माछा छन् । सुरुमा पोखरी खन्दा नै रु एक करोड खर्च लागेको उहाँले बताउनुभयो । जग्गा भाडामा लिएर माछापालन गर्नुभएका अर्यालको २८ कठ्ठा जमिन आफ्नै हो । अहिले चितवनमा पन्ध्र सयभन्दा बढी किसान माछापालनमा लागेका छन् । नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उहाँको भनाइ छ । “विदेश जानुभन्दा, यहाँ नै उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो । “माछापालनमा राम्रो आम्दानी छ तर राज्यले हेर्ने नजर गलत छ”, अर्यालले भन्नुभयो, “देश धनी बनाउने हो भने युवालाई रोकेर कृषिमा लगानी गर्न जरुरी छ ।” उहाँले भारतबाट अवैध रुपमा माछाको आयात नरोकिदा नेपाली किसान मारमा पर्दै आएको गुनासो गर्नुभयो । “भारतका माछालाई व्यवस्थापन गर्न सके नेपालमा उत्पादन भएका माछाले सहजै बजार पाउँछन्”, उहाँले भन्नुभयो, “राज्यले ठोस योजना बनाएर अवैध कारोबार रोक्नुपर्छ ।’

माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्षसमेत रहनुभएका अर्यालले सङ्घकै नेतृत्वमा अवैध माछा नियन्त्रण गरेर नष्ट गर्ने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - १०:०२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology