आँबुखैरेनी, २ जेष्ठ – तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको हाटबजारले स्थानीय कृषक र उपभोक्ताबीच प्रत्यक्ष जोड्ने कार्य गर्दै आएको छ।
गाउँपालिकाले प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै, कृषकलाई आफ्ना उत्पादनहरू बेच्न र उपभोक्तालाई ताजा कृषि सामग्री प्राप्त गर्न सहज बनाएको छ।
हाटबजारमा कृषकले उत्पादन गरेका स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।
यसले कृषकलाई आफ्ना उत्पादनहरूको मूल्य वृद्धि गर्न र उपभोक्तालाई ताजा र स्थानीय उत्पादनहरू सजिलै प्राप्त गर्न मद्दत पुर्याएको केसीले बताउनुभयो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न एवं कृषकलाई कृषि पेसामा लागिराख्न र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषि सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरिरहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
आँबुखैरेनी गाउँपालिकाले वडा नं. ३, स्थित अमिलीबोटमा दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गर्दै आएको छ।