Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नाबालिग करणीमा तीन वर्षसम्म कैद प्रस्ताव

नाबालिग करणीमा तीन वर्षसम्म कैद प्रस्ताव

images

इच्छाकामना न्युज

३०, बैशाख २०८२
नाबालिग करणीमा तीन वर्षसम्म कैद प्रस्ताव
images

काठमाडौँ । विवाहको उमेर परिमार्जन गर्ने वा नगर्ने बहस चलिरहेका बेला सरकारले २० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजायको प्रस्तावसहित मौजुदा कानुन संशोधनको गृहकार्य अघि बढाएको छ । २० वर्षभन्दा कम उमेरको विवाहमा हुने सजायसम्बन्धी सर्वोच्चको व्याख्या र फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदनका आधारमा सरकारले नयाँ मसौदा तयार पारेको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मसौदा सर्वसाधारणको सुझावका लागि सार्वजनिक गरिएको छ । विधायन ऐनले मसौदा सार्वजनिक अनिवार्य गरेको छ । 

२०७५ भदौ १ गतेदेखि लागु भएको मुलुकी संहिताले विवाहको उमेर २० वर्ष तोकेको छ । तर लागु भएको छोटो समयमै उक्त समयसीमा घटाउनुपर्ने माग भइरहेको छ । कतिपयले उक्त समयसीमा घटाउन नहुने बताइरहेका छन् । संसदीय समितिले कारागार अध्ययनमा आधारित रहेर उमेर घटाउन सुझाएका छन् । तर के कति आधारले उमेर घटाउने वा यथावत् राख्ने भन्ने अध्ययनमा आधारित तथ्याङ्क कोहीसँग पनि पाइन्न ।

मन्त्रालयले सार्वजनिक गरेको विधेयक मसौदामा विवाह उमेर २० नै कायम गर्न प्रस्ताव गरे पनि सोभन्दा कम उमेरका हकमा पनि लचकता रहेको छ । सजायमा अधिकतम तीन वर्ष कैद वा ३० हजार रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ । कैद जरिबाना ठहर भएमा १६ वर्षभन्दा कमको विवाह बदर हुने छ । तर १६–२० उमेरको विवाह स्वतन्त्र सहमतिमा भएमा अलग बस्ने मञ्जुरीमा अनुसन्धान अधिकारीले नै छाड्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तोमा मुद्दा चल्ने छैन । 

यस्तो विवाह २० वर्ष उमेर पुगेपछि त्यसको ३५ दिनभित्र बदर गराउन सक्ने व्यवस्था पनि प्रस्तावित छ । तर बच्चा जन्मिएको वा पत्नी गर्भवती भएमा विवाह बदर नहुने व्यवस्था प्रस्तावित छ । सर्वोच्च अदालतको फैसला सम्बोधन गर्दै सरकारले २० वर्षभन्दा कम उमेरमा हुने विवाह कसुरको सजाय निकै न्यून बनाएको छ । सर्वोच्चले नाबालिगको यौन सम्बन्धमा चर्को सजाय गर्न नहुने व्याख्या गरेको थियो ।

सार्वजनिक विधेयक मसौदा अनुसार १६ वर्षभन्दा कम उमेरका व्यक्तिको विवाह गरे/गराएमा तीन वर्षसम्म कैद वा ३० हजार रुपियाँसम्म जरिबाना प्रस्ताव गरिएको छ । यस्तै १६ वर्षभन्दा माथि १८ वर्षसम्मको विवाह गरे वा गराएमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ । १८ वर्षभन्दा माथि २० वर्षसम्मको विवाह गरे वा गराएमा पाँच हजार रुपियाँ जरिबानाको प्रस्ताव गरिएको छ । १६ वर्षभन्दा कम उमेरमा विवाह गरे वा गराएको प्रमाणित भई कैद वा जरिबाना भएका विवाह स्वतः बदर हुने छ । 

बहुविवाहमा महिलालाई पनि सजाय बहुविवाहको व्यवस्थामा पनि संशोधन प्रस्ताव गरिएको छ । पुरुषले बहुविवाह गरेमा सजाय हुने व्यवस्था परिमार्जन गरी पुरुष वा महिला दुवैले बहुविवाह गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । 

यस्तै पटके कसुरसम्बन्धी सजाय व्यवस्थामा पनि परिमार्जन प्रस्ताव छ । अहिले पटके कसुर कायम गर्दा साबिकमा सजाय भुक्तान गरेपछि पुनः अर्को कसुरमा मात्र सजाय व्यवस्था थियो । अब पहिलो कसुरको पाँच वर्षभित्र अर्को कसुर गरेमा पछिल्लो पटकको सरह सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै बालबालिकालाई हुने सजायमा हाल १० वर्ष नपुगी कसुर गरेमा कुनै सजाय नहुने व्यवस्थालाई १२ वर्ष कायम गर्न प्रस्ताव गरिएको छ । 

images
प्रकाशित मिति :बैशाख ३०, २०८२ मंगलवार - ०७:३८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology