Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बन्दीपुरको प्राचीनता र मौलिकतालाई जगेर्ना गर्न ‘संरक्षित क्षेत्र’ घोषणा

बन्दीपुरको प्राचीनता र मौलिकतालाई जगेर्ना गर्न ‘संरक्षित क्षेत्र’ घोषणा

इच्छाकामना न्युज

२८, बैशाख २०८२
बन्दीपुरको प्राचीनता र मौलिकतालाई जगेर्ना गर्न ‘संरक्षित क्षेत्र’ घोषणा

तनहुँ, वैशाख २८ गते । तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरको प्राचीनता र मौलिकतालाई जगेर्ना गर्ने काम अघि बढाइएको छ । यसका लागि बन्दीपुर गाउँपालिकाद्वारा बन्दीपुर नगरीलाई ‘संरक्षित क्षेत्र’ घोषणा गरिएको छ । संरक्षित क्षेत्रमा आधुनिक घर बनाउन, होर्डिङ बोर्ड राख्न प्रतिबन्ध लगाइएको छ भने मठमन्दिर तथा पुराना परम्परागत घरको संरक्षण तथा संवर्धन गरिएको छ । 

images

परम्परागत नमुना सहरका रूपमा प्रख्यात यस क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । आधुनिक घर निर्माणसँगै यहाँको मौलिकता गुम्ने हुँदा यस्ता घर बनाउन प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मौलिक घर निर्माण गर्नेलाई काठ खरिद र नक्सापासमा छुटको व्यवस्था गरिएको छ । यहाँका सामुदायिक वनसँग समन्वय गरेर छुट गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “काठका मौलिक घर बनाउन लागत मूल्य कम होस् भनेर सामुदायिक वनसँग समन्वय गरी बाहिर चार हजार क्युफिट पर्ने सालको काठलाई एक हजार रुपियाँमा पाउने व्यवस्था मिलाएका छौँ ।”

अध्यक्ष थापाका अनुसार नक्सापासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । काठका बुट्टा भएका झ्याल, ढोका, बार्दली, भर्‍याङ र इँटा बाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षण रहेको छ । १० औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले यहाँ भक्तपुरे शैलीका घर र ढुङ्गा बिछ्याएर बाटो निर्माण गरेका थिए । 

बन्दीपुर बजारमा नयाँ घर बनाउँदा सटर तथा च्यानल गेट बनाउन प्रतिबन्ध लगाइएको छ भने होर्डिङ बोर्ड राख्न पनि पाइँदैन । सडकभन्दा ४२ फिटभन्दा अग्लो घर बनाउन पनि नपाइने व्यवस्था गरिएको छ । बन्दीपुरमा पर्यटक आगमन बढेसँगै नयाँ घर बन्ने क्रम बढेको छ । यहाँ करोडौँको लगानीमा ठुला ठुला रिसोर्ट बन्ने क्रम बढिरहेको छ । मौलिकता नगुमोस् भन्नका लागि संरक्षण क्षेत्र घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ बताउनुहुन्छ । पृथ्वी राजमार्गमा पर्ने डुम्रे बजारबाट आठ किलोमिटर दक्षिणतर्फ नागबेली पक्की सडक हुँदै २० मिनेटभित्रै बन्दीपुर पुग्न सकिन्छ ।    

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १५:०८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology